साफ यू १५ फुटबल शुक्रबारबाट काठमाडौँमा सुरु हुँदै


काठमाण्डौ –  दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा साफ यू १५  फुटबल च्याम्पियनसिप शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को व्यवस्थापनमा दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने प्रतियोगितामा २ समूह रहेको छ । विगतका वर्षमा यू१६ प्रतियोगिता आयोजना हुँदै आएकोमा यस पटक भने साफले यसैवर्ष सेप्टेम्बरमा हुने  एएफसी यु १६ प्रतियोगितालाई मध्यनजर गर्दै यू १५ उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागेको हो ।

२०१५ मा भएको पछिल्लो संस्करणमा आयोजक बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । नेपालमा आयोजना भएको पहिलो २ संस्करणमा क्रमश: पाकिस्तान र भारतले उपाधि जितेका थिए । नेपालले प्रतियोगिताको तीनै संस्करणमा सेमिफाइनल पुग्दै आएको छ । दोस्रो संस्करणमा भने नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

प्रतियोगिताको समूह ‘ए’मा साविक विजेता बंगलादेशसँगै श्रीलंका र भुटान छन् भने समूह ‘ब़ी’ मा आयोजक नेपाल, भारत र माल्दिभ्स छन् । समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल खेलहरु भदौ २७ र फाइनल खेल भदौ २९ गते खेलिनेछ ।

प्रतियोगिताको समूह चरण, १ सेमिफाइनल र फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा खेलिनेछ । एक सेमिफाइनल खेल र तेश्रो स्थानको खेल भने हल्चोकस्थित सशस्त्र प्रहरी बलको रंगशालामा खेलिनेछ ।

नेपाली टोलीका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले टोलीको तयारी राम्रो रहेको र घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताए । उनले घरेलु मैदान भएका कारण प्रतियोगिता जित्ने दबाब पनि उत्तिकै रहेको अभिव्यक्ति दिए।

शुक्रबार हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकाको सामना गर्दैछ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । नेपालले आफ्नो पहिलो खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्नेछ ।