बार्सिलोना हमलामा १३ जनाको मृत्यु,नेपालीहरु सुरक्षित


बार्सिलोना/  युरोपमा आतंककारी हमलाका घटनाहरु बढिरहेका बेला स्पेनको पर्यटकीय गन्तब्य बार्सिलोना पनि अछुतो रहेन।पछिल्लो क्रममा मान्छेहरुको भिड माँझ लोरी,भ्यान वा गाडी जोताएर हमला गर्ने क्रम बढीरहदा, त्यसको पछिल्लो सिकार सुन्दर शहर बार्सिलोना बनेको छ।

बिहीबार अपरान्ह कातोलोनियाको मुटु राम्बलासमा हिडिरहेका सयौ मानिसहरु माथि एउटा सेतो भ्यान लगेर जोताइँदा हालसम्म १३ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन्। घटनामा परि अन्य ५० बढी घाईते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

घटनामा प्रयोग भएको भ्यान भाडामा प्रयोग गरिएको स्पेनि मिडियाहरुले जनाएका छन्। प्रहरीले हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि सार्वजनिक गरेका छन्। ति ब्यक्ति मोरक्कोमा जन्मिएका द्रिस उकाबीर भएको बताईन्छ।  हमलाको चौतर्फी निन्दा गरिएको छ।

सबै नेपालीहरु सुरक्षित छन् :- एनआरएनए स्पेन

बार्सिलोनामा आतंककारी हमला हुँदा गर्दा, गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको बैठक चलिरहेको थियो। देशमा बाढी पिडितहरुका लागि संकलित रकम कसरी पठाउने बारे छलफल भईरहँदा घटना घटेको हो। एनआरएन स्पेनको कार्यलयबाट नै त्यस वरपर रहेका नेपालीहरुसँग सम्पर्कको प्रयास भएको संघले जनाएको छ। लगत्तै संघका अध्यक्ष चिन्तामणी सापकोटाले घटना प्रति दुख ब्यक्त गर्दै,सबै नेपालीहरु सुरक्षित रहेको सूचना जारी गरेका छन्।

बार्सिलोनामा मात्रै  झन्डै ४ हजार नेपालीहरुको रहेको अनुमान छ। प्रमुख पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ स्थित नेपालीहरु सानासाना पसल देखि रेष्टुराहरुका काम सम्ममा ब्यस्त हुने गरेका छन्। कोहि हताहत भए,नभएको बारे बुझ्ने प्रयासलाई भने संघ संस्थाहरुले जारी राखेका छन्।