चलचित्र ‘गन्तव्य’को छायाङ्कन सकियो


सन्देश श्रेष्ठ
पाखोरा, ११ साउन

गन्तव्य फिल्मस् प्रोडक्सनको पहिलो प्रस्तुती नेपाली कथानक चलचित्र ‘गन्तव्य’को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ । असार १६ गतेदेखी शुरु भएको ‘गन्तव्य’को २३ दिनमा सम्पूर्ण छायाङ्कन सकिएको चलचित्रका निर्देशक कृष्ण उदासीले जानकारी दिनुभयो ।

तनहुँको दुलेगौंडाबाट शुरु गरिएको चलचित्र ‘गन्तव्य’को छायाङ्कन पोखरा, लेखनाथ तथा आसपासका क्षेत्रमा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पोखराको पृथ्वीचोक, लेकसाइड, पामे, सितापाइला, रामबजार, नयाँगाउँ, हेम्जा, लेखनाथको बुढीबजार लगायतका क्षेत्रमा छायाङ्कन गरिएको गरिएको छ । चलचित्रमा ४ वटा गीत रहेका छन् ।

एक्सन, आर्ट, कमर्सियल, सन्देशमुलक र राष्ट्रियता सम्बन्धि कथावस्तु समेटेर बनाइएको चलचित्रको पोष्ट प्रोडक्सन आइतबारदेखी काठमाडौंमा शुरु भएको निर्देशक उदासीले बताउनुभयो । उहाँले आउँदो भदौ भित्रमा चलचित्रको सम्पूर्ण कार्य पूरा गरेर प्रदर्शनको तयारीमा जुट्ने बताउनुभयो । चलचित्रको प्रदर्शन मिति भने वितरक र हल संचालकसँगको छलफलपछि तोकिने निर्देशक उदासीले बताउनुभयो । चलचित्र निर्माणमा करीब ४५ लाख लाग्ने उदासीको अनुमान छ ।

सुवर्णकुमारी शाही, अनिल शाही, लक्ष्मी हमाल, वलबहादुर शाही, शंकर मल्ल ठकुरीको संयुक्त लगानीमा निर्माण भएको चलचित्र गन्तव्यमा गणेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य, योगेश काजीको संगीत छ भने द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठ रहनुभएको छ । निर्माण व्यवस्थापनमा सागर महत, प्रकाश पारु चौधरी, श्रृगारमा प्रेम भुजेल, मुख्य सहायक निर्देशकमा सत्यराज चौलागाई रहेका छन् ।

चलचित्रको कलाकारहरुमा कमल भण्डारी, गोविन्द मल्ल, प्रभा शर्मा, पूर्ण जिसी, राजेन्द्र अधिकारी, मनिचन्द्र, अनिल शाही, निलम तामाङ, अब्बास्क अली, अम्विका भण्डारी, राम बाँस्तोला, सञ्चारकर्मी सन्देश श्रेष्ठ, जुना थापा, भीमपाणी वराल, पञ्चामृत समूहका परिवर्तन, प्राञ्जल, रविन शर्मा लगायत छन् ।

चलचित्रको गीतमा शिव परियार, सीतल सिवानी मोक्तान, राज सिग्देल र योगेश काजीको स्वर रहेको छ भने शव्द कृष्ण उदासी र योगेश काजीको रहेको छ । लामो समय पछि चलचित्र निर्देशनमा आएका उदासीले ‘अँध्यारो बस्ती’, ‘आजको पोखरा’, ‘कहिँ हार कहिँ जित’ निर्देशन गरिसक्नुभएको छ । गत वर्ष मात्रै ‘अन्र्तराष्ट्रिय रक्सी भट्टी’ नाटकको निर्देशन गरेर चर्चा पाएका उदासी मोफसलका प्रतिभाशाली नाटककार हुनुहुन्छ ।