संविधान संशोधन विधेयक पारित नहुने ओलीको दावी


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष अले संविधान संशोधन विधेयक पारित नहुने दावी गरेका छन् । अध्यक्ष ओलीले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने उपयुक्त समय अहिले नभएको पनि स्पष्ट पारेका हुन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी सत्तापक्षले विधेयक निर्णयार्थ पेश गर्न खोजेको आरोप पनि लगाए । सरकारले आगामी सोमबार संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ ।

अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिए । उनले सत्तारुढ दलहरुले आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम आउने गरी क्षेत्र निर्धारणको काममा षडयन्त्र गरिरहेको आरोप पनि लगाए ।

अध्यक्ष ओलीले राहत वितरणको काममा राजनीति नगर्न पनि सरकारलाई सचेत गराए । ‘राजनीतिक लाभहानीको आधारमा सरकार र सत्तारुढ दलका नेताहरुले राहत वितरणको कामलाई प्रचारवाजीको विषय बनाएका छन् यो राम्रो होइन’ ओलीले भने ।