नेपाललाई २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने मोदीको प्रतिबद्धता


काठमाण्डौ –  नेपालमा हालै आएको बाढी र पहिरोका कारण आएको विपत्तिको सामना गर्न भन्दै भारत सरकारले नेपाललाई २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री शेरवहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले आज साँझ टेलिफोन गरेर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सो सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यसअघि नेपाल भ्रमणमा रहेका चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालका बाढीपहिरो पीडितका लागि भन्दै १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए ।