सामाजिक सञ्जाल र युट्युबमै सीमित बन्दै तीज गीत


राजाराम पौडेल –  तीज गीत रेकर्ड, म्युजिक भिडियो निर्माण एवं यसको प्रमोसनका लागि ठूलो रकम खर्च हुन्छ । खर्च गरेअनुसारको प्रतिफल अधिकांशले प्राप्त गर्दैनन्, तैपनि तीज गीत रेकर्ड गर्ने क्रममा कुनै कमी आएको छैन । एल्बम निकाल्ने खर्च व्यवस्थापन गर्न भन्दै कतिपय कलाकारले आफ्नो गीतका लागि लगानीकर्ता खोज्छन्, जसमध्ये कतिपयले जसोतसो रकमको जोहो गर्दै एल्बम दर्शक–श्रोतासम्म पुर्‍याउँछन् ।

आम्दानी गर्नभन्दा पनि केवल निरन्तरता दिन तीज गीत बजारमा ल्याउनेहरूको संख्या पनि ठूलै छ । यस क्रममा अहिले अधिकांश कलाकार आफ्ना तीज गीतको भिडियोको प्रमोसनमा व्यस्त देखिन्छन् । गीत–संगीत हिट हुनुमा म्यूजिक भिडियोको उपस्थिति अपरिहार्य बन्दै गएकाले कलाकारहरूले म्युजिक भिडियो निर्माण गर्नुपर्ने बाध्यता छ । यसले गर्दा एल्बमको लगानी निकै बढेको छ तर लगानीअनुरूपको प्रतिफल प्राप्त हुन सक्ने स्थिति छैन भने यसरी बजारमा आएका अधिकांश एल्बमका गीतले तीजको मौलीकतालाई समेट्न नसकेको गुनासो आम संगीतप्रेमीको छ ।

ठूलो रकम खर्च गरेर व्यवसायिक मोडललाई भिडियोमा राख्दासमेत त्यस्ता भिडियोले दर्शक–श्रोताको मन जित्न सकिरहेका छैनन् । केही वर्ष पहिलेसम्म लिप–सिनमा मात्र देखिने गायक–गायिका अहिले मोडलका रूपमा आफैं प्रस्तुत हुन थालेका छन् । दर्शक नयाँपन चाहन्छन् तर भिडियो कामचलाउ बनिरहेका छन् । यसले गीतको व्यवसायिकतामा समेत असर परेको छ ।

यति हुँदाहुँदै पनि केही गीतले तीज गीतको मौलीकतालाई समेट्दै वास्तविक तीज गीतको स्वाद चखाउने प्रयास गरेका छन् । यद्यपि यस्ता गीतको संख्या ज्यादै न्यून छ । केही गीतले अश्लीलतालाई स्थान दिएकाले परिवार सँगै बसेर भिडियो हेर्नसमेत असहज हुने गरेको छ भने यस्तै अश्लिल मानिएका गीत हेर्ने दर्शकको संख्याचाहिँ बढी पाइन्छ ।

अहिले रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालहरूमा तीज गीतकै चर्चा छ । तीजका कतिवटा गीत बजारमा आइसकेका छन् भन्ने आधिकारिक तथ्यांक कतै उपलब्ध नभए पनि विभिन्न माध्यमबाट सयौंको संख्यामा तीज केन्द्रित गीत सार्वजनिक भएका छन् । रहरले तीज गीत निकाल्नेहरू पनि छन् । चर्चामा आएर देश–विदेशका कार्यक्रममा सहभागी भै मनग्य आम्दानी गर्ने उद्देश्यले गीत तयार पार्नेहरू पनि उस्तै छन् । संस्कृतिको संरक्षण तथा तीजको मौलिकताको रक्षा गर्ने उद्देश्य राख्नेहरूले समेत आफूलाई निरन्तरता दिँदै आएका छन्, तर यसरी निर्माण भएका अधिकांश गीत मिडिया तथा सामाजिक सञ्जालमा मात्र सीमित छन् । सामाजिक सञ्जाल फेसबुक र युट्युब नै यी गीत हेर्ने माध्यम बनेका छन् । महिलाहरूको चाड भनिए पनि तीज गीतमा पुरुष कलाकारको बाहुल्यता बढ्दै गएको छ । नारीका पीर, व्यथा, वेदना गीतमार्फत व्यक्त हुने चलन तडक–भडकपूर्ण प्रदर्शनमा रूपान्तरण हुँदै गएको छ ।

कलाकारहरूको प्रतिक्रिया
लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङ अहिले देखिएका अधिकांश गीतमा विकृति देखिएको स्वीकार गर्दै भन्छन्– स्रष्टाले परिवारका सदस्यहरूसँगै बसेर सुन्न र हेर्न सक्ने गीत मात्र निकाल्नुपर्छ । लोकदोहोरी गायक घनश्याम रिजाल अहिलेका अधिकांश तीज गीतले मौलिक संस्कृतिको जगेर्ना गर्न नसकेको बताउँछन् ।

तीजको अवसरमा बजारमा आएका अधिकांश गीतको म्युजिक भिडियोले अनावश्यक तडक–भडक प्रस्तुत गरेको भन्दै विभिन्न क्षेत्रबाट त्यसको आलोचनासमेत भैरहेको छ । तीज गीत बजारमा ल्याउने कलाकारले खर्च जोगाउन भिडियो निर्माण गर्दा आफैं भिडियोमा देखिने प्रवृत्ति पनि बढ्दै गएको छ । यसका अतिरिक्त आफन्त तथा साथीभाइलाई लगानी गर्न लगाई उनीहरूलाई भिडियोमा देखाउने क्रममा समेत वृद्धि हुँदै गएको छ । लोकदोहोरी गायिका निशा पोखरेल तीज गीतमा मौलिकता हराएको दाबी गर्छिन् । तीज गीत हुन् कि होइनन् छुट्याउनै गाह्रो छ, –पोखरेलले बताइन् ।

गायक पदम थापामगर चर्चा कमाउनकै लागि भिडियो निर्माण गर्ने क्रम बढेको दाबी गर्छन् । ग्लामरमा जोड दिइएका भिडियो केही समयका लागि हुन्, सधैं टिक्न सक्दैनन्, –थापामगरले बताए । लोकदोहोरी गायक तारानाथ आचार्य अहिलेका तीज गीत केही उत्ताउला, केही मध्यम र केही मौलिक संस्कृति झल्काउने खालका भएको बताउँछन् । आफ्नो गीतमा आफैं मोडल हुने कुरा नराम्रो नभएको उनको तर्क छ । कलाकार गाउन मात्र सक्षम भएर हुँदैन अभिनयसमेत गर्न सके सुनमा सुगन्ध हुन्छ’ उनले बताए । एउटा मापदण्ड बनाएर त्यही मापदण्डमा रहेर गीत रेकर्ड एवं छायांकन गर्ने हो भने विकृति आफैं कम हुँदै जाने आचार्यको बुझाइ छ ।

गायक जयकुमार परियार अहिलेको तीज गीतको भिडियोमा देखाइने नाचलाई लुठेनाच भन्छन् । यसमा संस्कार र संस्कृतिको कुरा गर्नेहरूसमेत दोषी छन्, अज्ञानताका कारण यस्तो भएको हो, –परियारले बताए । कलाकारहरूमा छोटो समयमै लोकप्रिय हुने होडबाजी चलेको छ, मिडियाले समेत मौलिक संस्कृतिलाई ध्यान नदिई भिडियो प्रसारण गर्छन्, त्यसैले पनि यस्तो अवस्था सिर्जना भएको हो, —परियारको निक्र्यौल छ । यो लेख कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित “साप्ताहिक” बाट  लिएका हौ ।