लामाचौर महोत्सव तथा राष्ट्रिय महिला भलिवल प्रतियोगिता आजदेखि शुरु हुँदै


पोखरा –  पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६, लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजले आयोजना गर्ने लामाचौर महोत्सव तथा राष्ट्रिय महिला भलिवल प्रतियोगिता आइतबारदेखि शुरु हुँदैछ । कार्यक्रमका प्रचार–प्रसार संयोजक गिरीधारी शर्माका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

महोत्सवको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव स्थलमा ३९ वटा व्यवसायिक स्टक रहेका छन् भने रामाइलो बाल उद्यान बनाउने तयारी गरिएको शर्माले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकार कोमल वली, रामजी खाँड, सम्झना मगर, दीपक खड्का, चोलेन्द्र पौडेल, कृष्णा गुरुङ, तुलाशा जिसीका साथै हास्य–व्यङ्ग्यमा टेलिफिल्म भद्रगोलका कलाकार बले र कक्रोचको प्रस्तुति रहनेछ । साथै महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरिएको संयोजक शर्माले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ९ विद्यालय सहभागी हुँदैछन् ।

यसैगरी भाद्र ४ र ५ गते संचालन हुने महिला भलिवल प्रतियोगिता अवलोकन गर्नका लागि प्याराफिट निर्माण गरिएको छ । शर्माका अनुसार प्रतियोगितामा ६ वटा टीम सहभागी हुदैछन् । जसमा न्यू डाइमन्ड, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल भलिवल संघ छन् ।