बाढी पिडितका लागि स्पेनमा १४ लाख रुपैयाँ संकलन,पहिलो चरणको रकम पठाईयो


बार्सिलोना/ बाढी पहिरो पिडितहरुको सहयोगार्थ स्पेनमा झन्डै १४ लाख रुपैयाँ संकलन भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको राहत संकलन अभियानमा हालसम्म ११ हजार ९ सय १९ युरोको प्रतिबद्दता आएको हो। संघका अध्यक्ष एवम् राहत संकलन अभियानका संयोजक चिन्तामणी सापकोटाले पहिलो चरण अन्तर्गतको रकम  एनआरएनको राहत कोषमा पठाईएको बताए।

अध्यक्ष सापकोटाले भने,”केन्द्रिय अध्यक्ष शेष घलेको नेतृत्वमा प्रभावित क्षेत्रमा राहत बितरण भईरहेको बेला स्पेनबाट पहिलो चरणमा करिव ६ लाख रुपैयाँ (५ हजार युरो) बुधबार नै पठाएका छौ। आपत बिपतको बेला स्पेनको नेपाली समुदाय कुनै पार्टी,जात,धर्म,क्षेत्र केहि नभनीकन सधैँ झैँ यो पटक पनि जुटेको छ, सबै प्रति आभार प्रकट गर्न चाहन्छु।” संघका कोषाध्यक्ष बिशाल ढुंगानाका अनुसार बार्सिलोनामा ५ हजार ५ सय ९३ युरो,क्षेत्रीय समिति म्याड्रिडले ३ हजार २० युरो र क्षेत्रीय समिति पाईसभास्कोमा २ हजार ३ सय २७ युरो र क्षेत्रीय समिति ग्रानक्यानारियामा ९ सय ७९ युरो संकलन भएको छ। अभियानमा स्पेन स्थित संघ संस्थाहरुले पनि रकम संकलन गर्दै साथ दिएका छन्।

गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकाका बाढीपीडितलाई राहत बितरण गरेको छ ।संघले नगरपालिकाका झण्डै एक हजार पाँच सय परिवारलाई त्रिपाल, झुल र खाद्यसामाग्री बितरण गरेको छ । संघले एक परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेल लगायतका सामाग्री रहेको राहत प्याकेज बितरण गरेको छ । तस्बिर;- गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घलेको फेसबुक पेजबाट