ऐतिहासिक बाटुलेचौर तीजमेला जारी, विभिन्न श्रष्टा सम्मानित


पोखरा – बाटुलेचौरमा तीन दिन देखि जारी ऐतिहासिक बाटुलेचौर तीज मेलामा विभिन्न क्षेत्रका श्रष्टाहरु सम्मानित भएका छन् । हिमालय क्लवले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको मेलामा यस पटक लोकदोहोरी गायिका ज्योति लोहनी गुरुङ, माया गुरुङ, क्रियाशिल महिला पत्रकार जमुना शर्मा बर्षा, ह्याण्डबलका राष्ट्रिय खेलाडी विशाल खड्का, विशाल बस्नेत र सहयोगी संस्थाको रुपमा मैदान आमा समूह सम्मानित भएका छन् ।

सम्मानित श्रष्टा र संस्थालाई कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, सांसद शारदा पौडेल, कुमार खड्का, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, मेला संयोजक बेनीबहादुर बस्नेत, श्रष्टा छनौट समितिका संयोजक उदयबहादुर बस्नेत, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठले सम्मान पत्र सहित माला र दोशल्ला ओढाएर सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा लेखनाग महानगर पालिकाका उपप्रमुख मञ्जेदेवी गुरुङले सँस्कृति संरक्षण र पहिचानका लागि समाजका हरेक व्यक्ति र संस्थाहरु जुट्नुपर्ने बताउनुभयो । उहाँले क्लवको प्रशंसा गर्दै सामाजिक कार्यमा हातेमालो गर्न महानगर पालिका तयार रहेको बताउनुभयो । कार्यक्रम संयोजक बेनीबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शारदा पौडेल, कुमार खड्का, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, क्लवका सचिव मोहन थापा लगायतले तीजलाई सँस्कृतिमूलक बनाउन आग्रह गर्नुभयो ।

मेलामा तेस्रो दिन पनि विभिन्न साँस्कृतिक कार्यक्र प्रस्तुत गरिएको क्लवका सह–सचिव बैकुयठ पौडेलले जानकारी दिनुभयो । मेलामा बुधबार लोकदोहोरी गायक घनश्याम रिजाल, ज्योति लोहनी, माया गुरुङ, मञ्जु वि.क., लक्ष्मी बानियाँ, कृष्ण सुुवेदी, ऋतु परियार लगायतका कलाकारहरुले सहभागीलाई नचाएका थिए । सोही कार्यक्रममा विपन्न परिवारका एकल महिला दुई जनालाई सहयोग रकम हस्तान्तरण गरिएको प्रचार संयोजक शिवराज देवकोटाले जानकारी दिनुभयो । दिनभर जसो सिमसिम पानी परिरहे पनि मेला हेर्न दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । मेलामा विहीबार आमा समूहको समूहगत तीज गीत तथा नृत्य प्रस्तुती रहने र ह्याण्डबलको फाइनल खेल हुने बताइएको छ । चार दिन सम्म चल्ने मेला भोलि समापन गरिने आयोजकले जनाएको छ ।