महिला भलिबलको उपाधी एपीएफलाई


 पोखरा – सशस्त्र प्रहरी बलको एपीएफ क्लवले सम्पन्न रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी जितेको छ। पोखराको लामाचौरमा बिहिबार सम्पन्न प्रतियोगिताको फाइनलमा एपीएफले डिफेण्डिङ च्याम्पियन न्यू डायमण्डलाई सोझो तीन सेटमा हराउँदै एपीएफले उपाधी जितेको हो। एपीएफले २५–१८, २५–१८ र २५–१२ को सोझो सेटमा फाइनल खेललाई आफ्नो पक्षमा पारेको थियो।

एपीएफले नगद ७५ हजार सहित ट्रफी जित्यो। नव आदर्श सामुदायिक विकास समाजद्धारा लामाचौरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चारवटा उपाधी जितेको डिफेण्डिङ च्याम्पियन न्यू डायमण्डले ५० हजारसहित उपविजेतामा चित्त बुझायो।

लिग चरणमा पुलिसमाथि २५–१५, २५–१९ र २५–२० तथा सेमीफाइनलमा पश्चिमाञ्चललाई २५–१६, २५–१९ र २५–१३ को सोझो सेटमा हराउँदै फाइनल भिडेको न्यू डायमण्ड एपीएफविरुद्धको खेलमा निरिह देखियो।

फाइनलमा प्रतिभा मालीको स्पाइक चल्न सकेन। प्रतिभाको स्पाइकहरुलाई एपीएफका उषा बिष्ट र रेशा भण्डारीले बिफल तुल्याइदिए। न्यू डायमण्डका प्रशिक्षक कुमार राईले रेफ्रीहरुका कारण खेल हार्नुपरेको बताए। ‘एपीएफको कतिपय फाउललाई रेफ्रीले देखेन,’ प्रशिक्षक राईको प्रतिक्रिया थियो।

यता, एपीएफका सरस्वति र रेबीका चौधरीको कडा स्पाइकहरुले गर्दा डायमण्डमाथि जित निकाल्न सजिलो भएको एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले प्रतिक्रिया दिए। उनले भने, ‘सरस्वति र रेबिकाको स्पाइकलाई रोक्न नसक्नु नै विपक्षी डायमण्डको कमजोरी रह्यो।’
तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलको भलिबल टिममाथि २५–१८, २५–१९, २२–२५ र २५–२२ ले हरायो।