एनआरएनए ईटालीमा नयाँ नेतृत्वका लागि मतदान हुँदै


रोम/गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीमा नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ। नेतृत्व चयनका लागि राजधानी रोम,भेनिस,मिलानो,पिशा र पार्मा निर्बाचन केन्द्रहरुमा मतदान भएको हो। निर्बाचन समितिका संयोजक जनक पंगेनीका अनुसार ६ सय ९ जना मतदाताहरुले मतदान गर्दैछन्।

संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयनका लागि मुख्य पदहरुमा सहमति हुन नसक्दा चुनाव भएको हो। अध्यक्षमा दिपेश कुमार रेग्मी र राजन चापागाईको उमेद्वारी परेको छ। रेग्मी बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने चापागाई संघका पुर्ब महासचिव हुन्।

आईसीसीका उमेद्वारहरु श्रेष्ठ (दायाँ) र जोशी (बायाँ)

यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा बर्तमान कार्यसमितिका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठ र बर्तमान उपाध्यक्ष हेमराज जोशी बीच प्रतिस्पर्धा भईरहेको छ। यस्तै कार्यसमितिको महासचिव पदका लागि ईन्द्रप्रसाद सुबेदी र छबीलाल कडेल प्रतिस्पर्धामा छन्। आईसीसी सदस्य,अध्यक्ष र महासचिव पद बाहेक अन्य पदहरुमा निर्बिरोध भईसकेको छ।

को-को बने निर्बिरोध ?

नयाँ कार्यसमितिको उपाध्यक्षमा देवराज गुरुङ र मनोज कुमार कार्की निर्बिरोध भएका छन्। यस्तै सचिवमा झिम नारायण चापागाई,कोषाध्यक्षमा अशोक उप्रेती,युवा प्रतिनिधिमा फाजिल अहमेद र महिला प्रतिनिधिमा रामकला पन्त निर्बिरोध चयन भएका छन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश महर्जन,सुजन कुमार बुढाथोकी,सबिन कुमार श्रेष्ठ र सुदीप अधिकारी चयन भएका छन्।

कहिले हुन्छ मतगणना ?

निर्बाचन समितिका संयोजक पंगेनी अनुसार आईतबार बिहान मात्र मतगणना हुँदै छ।उनले भने,”सबै मतदान केन्द्रबाट आज नै मतपेटीका रोम ल्याउँदै छौ,सर्बपक्षीय छलफल पछि आईतबार बिहान ९ बजे देखि मतगणना सुरु गर्नेछौ।संघको आईतबार रोममा हुने पाँचौ अधिबेशनमा प्रमुख अतिथिको रुपमा पुर्ब युरोप क्षेत्रीय उपसंयोजक तथा एनआरएन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ आउँदैछन्।अधिबेशनका लागि केन्द्रिय पर्यबेक्षकको रुपमा स्बिजरल्याण्डबाट आईसीसी सदस्य डा.बिनय श्रेष्ठ सहभागी हुँदैछन्। यस्तै कार्यक्रममा बिशेष अतिथिको रुपमा ईटालीका लागि नेपाली अबैतानिक बाणिज्य दूत पाउलो नुगारी पनि सहभागी बन्ने संघले जनाएको छ।