एनआरएनए ईटालीको अध्यक्षमा रेग्मी र आईसीसी सदस्यमा श्रेष्ठ बिजयी


अध्यक्षमा निर्बाचित रेग्मी (बायाँ) र आईसीसी सदस्यमा निर्बाचित श्रेष्ठ (दायाँ)

रोम/गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीको अध्यक्षमा दिपेश कुमार रेग्मी बिजयी भएका छन्।  निर्बतमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका रेग्मीले २ सय ८७ मत प्राप्त गर्दै बिजयी बनेका हुन्। अध्यक्षका अर्का प्रत्यासी राजन चापागाईले भने २ सय १२ मत प्राप्त गरे। चापागाई संघका पुर्ब महासचिव हुन्।

यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा क्षेत्र कुमार श्रेष्ठ बिजयी बने। अर्का प्रत्यासी हेमराज जोशीलाई १५ मतले पछि पार्दै श्रेष्ठ बिजयी भएका हुन्। निबर्तमान कार्यसमितिका अध्यक्ष समेत रहेका श्रेष्ठले २ सय ६० मत प्राप्त गरे भने जोशीले २ सय ४५ मत ल्याए।

महासचिवमा छबीलाल कडेलले २ सय ५५ मत ल्याएर बिजयी भए। महासचिवका अर्का प्रत्यासी ईन्द्रप्रसाद सुबेदी भने कडेल भन्दा १३ मतले मात्र पछि परे। नेतृत्व चयनका लागि राजधानी रोम,भेनिस,मिलानो,पिसा र पार्मा निर्बाचन केन्द्रहरुमा भएको मतदानमा ५ सय २६ मत खसेको थियो।

संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयनका लागि मुख्य पदहरुमा सहमति हुन नसक्दा चुनाव भएको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा देवराज गुरुङ र मनोज कुमार कार्की निर्बिरोध निर्बाचित भए। यस्तै सचिवमा झिम नारायण चापागाई,कोषाध्यक्षमा अशोक उप्रेती,युवा प्रतिनिधिमा फाजिल अहमेद र महिला प्रतिनिधिमा रामकला पन्त निर्बिरोध चयन भएका छन्। यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश महर्जन,सुजन कुमार बुढाथोकी,सबिन कुमार श्रेष्ठ र सुदीप अधिकारी निर्बिरोध निर्बाचित भएका छन्। संघको आईतबार रोममा सम्पन्न पाँचौ अधिबेशनमा प्रमुख अतिथिको रुपमा पुर्ब युरोप क्षेत्रीय उपसंयोजक तथा एनआरएन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र केन्द्रिय पर्यबेक्षकको रुपमा स्बिजरल्याण्डबाट आईसीसी सदस्य डा.बिनय श्रेष्ठ,सहभागी बनेका थिए। यस्तै बिशेष अतिथिको रुपमा ईटालीका लागि नेपाली अबैतानिक बाणिज्य दूत पाउलो नुगारी लगायत ईटाली स्थित संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।