पोखरा रंगशाला अब काकाकुलबाट मुक्त


पोखरा – पोखरा रंगशाला अब काकाकुलबाट मुक्त भएको छ । लामोसमयदेखि पानी विहीन रंगशालामा पानीको व्यवस्थापन गरिएको छ । पोखरा रंगशालाभित्र बोरिङ गरी खानेपानीको आपूर्ति गरिएको छ । खानेपानी आपूर्ति गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सम्पन्न श्रेष्ठको पहलमा निर्माण गरिएको हो ।

पोखरा रंगशाला घेराबन्दी गरिएपछि नेपाल भुतपुर्व खेलाडी मन्चको पहलमा २०६४ सालमा खानेपानी आपूर्तिको लागि बोरिङ खनिएको थियो । तर पानी नै निस्किएपछि खानेपानीको समस्या जटिल बन्दै गएको थियो । एक दशकपछि रंगशालाको पुर्व तर्फको जमिनमा बोरिङ गरिएको हो ।

१ सय ३० मिटरको गहिराईबाट पानी निकालिएको छ । आठ इन्च मोटाईको पाईप जडान गरी निकालिएको पानीलाई ट्यांकीमा िरिजर्भ गरिने कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारले बताए । उनका अनुसार खानेपानी विशेष गरी फुटबल मैदान, कार्यालय प्रयोजन, भौतिक पुर्वाधार निर्माण तथा शौचालयको लागि प्रयोग गरिने छ । ४१५ रोपनी क्षेत्रफलको रंगशालामा निर्मित पुर्वाधारमा पानीको व्यवस्था गरिने छ । सबै ठाँउमा पाईप मार्फत पानी वितरण गरिने छ । खानेपानीको लागि १७ लाख रुपैयाँ खर्च भएको क्षेत्रीय सदस्य श्रेष्ठले बताए ।