भिजन २०२० लागू गरेरै छाडने शेष घलेको दावी,यस्तो छ गोप्य दस्तावेज


लन्डन । तमुधिं यूकेको निमन्त्रणामा नवौं नेपाली मेलामा सहभागी हुन बेलायत आएका एनआरएनए आइसीसी अध्यक्ष शेष घलेले आफ्नो विवादास्पद ‘भिजन २०२० एण्ड वियोण्ड’ लागू गरेरै छाड्ने दावी गरेका छन् । दुई कार्यकाल सकेर बाहिरिनै लाग्दा घलेले संस्थागत संरचना नै परिवर्तन गर्ने गरि एकलौटी रुपमा भिजन २०२० एण्ड वियोण्ड प्रस्ताव लागू गर्ने बताएका हुन् जसको संस्थापन पक्षबाट विरोध हुंदै आएको छ ।
आइतबार मेला उद्घाटनका अवसरमा घलेले संघलाई अभियानको ‘भर्चुअल’ दुनियाबाट संस्थागत गर्ने कार्यमा अझै सफलता नमिलेको बताउंदै संस्थालाई बलियो, क्षमतायुक्त र प्रभावकारी बनाउन ‘भिजन २०२० एण्ड वियोण्ड’ प्रस्ताव गरिएको बताए । उनले प्रस्तावित भिजन आत्मसात नगर्ने र संस्थाको पुनर्संरचना नगर्ने हो भने एनआरएनहरु लाचार अवस्था पुग्ने र संघप्रतिको विश्वास तासको घर झैं ढल्ने जिकिर समेत गरे । ‘म अबको १५, २० वर्षमा संघ नेपाली मूलका नेपालीहरुको राष्ट्रसंघ जस्तो संस्था भएको देख्न चाहन्छु’, उनले भने, ‘अबको १५, २० वर्षमा संसारभरि नै नेपाली मूलका मानिसहरुको संख्या लाखौं हुनेछ । त्यो बेला हाम्रा सन्ततिहरुले हामी नेपाली मूलका हौं भनेर गर्व गर्ने बनाउन हामीले भिजन २०२० प्रस्ताव गरेका हौं ।’
गत जुलाई अन्तिम साता जर्मनीको फ्रयांकफर्ट शहरमा भएको एनआरएनए युरोप क्षेत्रीय बैठकमा अध्यक्ष घलेले भिजन २०२० डकुमेन्ट अनुसार संस्थालाई अघि बढाउन आवश्यक रहेको बताएपछि संस्थाका प्रमुख संरक्षक जीवा लामिछानेले आपत्ति‌ जनाएका थिए । उनले बिना कुनै छलफल र कसैसंग सरसल्लाह नगरी परामर्शदाता नियुक्त गरी उक्त दस्तावेज ल्याइएको भन्दै अध्यक्षको कार्यशैलीको विरोध गरेका थिए । त्यसपछि घलेले छलफलपछि मात्रै सो दस्तावेजलाई अन्तिम रुप दिइने र सबै राष्ट्रिय समितिलाई पठाइने बताएपनि अहिलेसम्म राष्ट्रिय समितिहरुलाई नपठाइएको जानकारहरु बताउंछन् ।
लन्डनमा बोल्दै अध्यक्ष घलेले आफ्नो कार्यकालमा शुरु गरिएका योजनाहरुलाई पुरा गर्ने र भिजन २०२० अनुसार संस्थालाई अगाडि बढाउने नेतृत्व चुन्न आव्हान गरे । यसबाट अक्टोबरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको विश्व सम्मेलनमा नयां अध्यक्षको चुनाव निकै रोचक हुने देखिएको छ । एनआरएनएका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार कुमार पन्त लामिछानेका व्यावसायिक साझेदार पनि हुन् भने अर्का उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार भवन भट्टलाई घलेले समर्थन गर्न सक्ने जानकारहरु बताउंछन् ।
एनआरएनए यूकेले आफ्नो स्वागत तथा सम्मानमा गरेको एक कार्यक्रममा पनि घलेले प्रस्तावको बचाउ गरेका थिए । उक्त अवसरमा अध्यक्ष घलेले विश्व सम्मेलनमा औपचारिक रुपमा प्रस्ताव ल्याइने बताउंदै नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए ।
यस्तो छ गोप्य दस्तावेज :-