“सुनपानी” युरोपमा प्रदशनको तयारी


प्रकाश तिवारी, स्पेन
हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता आदी लगायतका बिभिन्न कुरितिहरुलाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको चलचित्र सुनपानीको बिशेष प्रदर्शन हालै पोखराको विन्दबासिनी हल र काठमाण्डौको अष्टनारायण हलमा सम्पन्न भएको छ ।

नव किरण अनाथ बाल उत्थान समाज धापाखेलको सहयोगार्थ लायन्स क्लब अफ काठमाण्डौ चन्द्रागिरीको आयोजनामा साउन ५ गते सम्पन्न विशेष प्रदर्शनीमा अत्याधिक दर्शकहरुले चलचित्र हेरेका थिए ।

कलाकार चेतबहादुर सिंह राजाले निर्माण गरेको चलचित्र सुनपानीको निर्देशन बहुसख्यक जन चेतनामुलक टेलिचलचित्रका निर्देशक तथा कलाकार सविन बास्तोलाले गरेका हुन चलचित्रमा सविन बास्तोला, अग्रज के.सी, तारा के.सी, आशा भुषाल, नविन तिमिल्सीना, चेतबहादुर सिहं राजा, नीशा शाह, दिलिप तामाङ्ग,बुद्धिसागर खनाल,स्वस्तिका लामिछाने लगायतको अभिनय रहेको छ । चलचित्रको छायांकन गणेश कुमार श्रेष्ठ, संपादनमा विपिन मल्ल र चलचित्रको सह निर्मातामा बुद्धि सागर खनाल र प्रकाश तिवारी रहेका छन ।

विमलराज क्षेत्रीको संगीत रहेको चलचित्र सामाजिक जनजागरणका लागि तयार पारिएकोले समाजका विभिन्न वर्गसम्म पुग्नका निमित्त सोही किसिमको प्रदर्शन व्यवस्थापन गर्दै रिलिज गर्ने लक्ष्य राखेको बताउदै चलचित्रले सकारात्मक सन्देश प्रवाहित गर्दै समाज रुपान्तरणको महत्वपूर्ण उत्तरदायित्व निर्वाह गर्ने दावी निर्माण पक्षको रहेको छ । सुनपानिका सह निर्माता तथा युरोप वितरक प्रकाश तिवारीका अनुसार स्पेनको बार्सिलोना र बेनिडर्म लगायत युरोपका बिभिन्न देशहरुमा समेत छिट्टै च्यारिटी सो मार्फत चलचित्र प्रदर्शनी गर्ने तयारी भैरहेको जानकारी गराएका छन ।