एमालेले प्रतिवादको बाटो समाउन नपरोस् : अध्यक्ष ओली


काठमाडौ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं‍. २ मा एमालेका कार्यक्रममा राष्ट्रिय जनता पार्टीले अवरोध पुर्‍याएको भन्दै आलोचना गरेका छन्।

स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका ओलीले बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमालस्थलमा कुरा गर्दै अध्यक्ष ओलीले राजपाले निषेध, हिंसा र तोडफोडको राजनीति गरेको आरोप लगाए।

उनले भने, ‘उहाँहरूलाई(राजपालाई) म भन्न चाहन्छु- उहाँहरूले निषेधको राजनीति गरिरहनु भएको छ। उहाँहरूजस्तै गरी एमाले ओर्लियो भने के हुन्छ?’ एमाले आवेश उत्तेजनामा नआउने तर डरपोक र कायर भएर पनि नभाग्ने उनले बताए।

‘एमालेले प्रतिवादको बाटो समाउन नपरोस्,’ अध्यक्ष ओलीले चेतावनीको शैलीमा भने। राजपासमेत सहभागी भएर संविधान संशोधनबारे संसदले निर्णय लिइसकेपछि पनि राजपाले यस्ता गतिविधि जारी राख्नु उचित नभएको उनले टिप्पणी गरे।

‘तपाईंहरू राजनीति गर्ने पार्टी हो भने राजनीति गर्ने आचरण र व्यवहारमा आउनुहोस्,’ उनले भने, ‘लोकतान्त्रिक मुल्य र मान्यतामा आउनुस्।’

राजपाको व्यवहारबारे सरकार र निर्वाचन आयोगको भूमिकामाथि पनि उनले प्रश्न उठाए। सरकारले राजपाका असंवैधानिक र गैरकानुनी कृयाकलाप नियन्त्रण गर्न नखोजेको आरोप उनको छ। उनले सरकारले राजपाका यस्ता गतिविधिका लागि प्रोत्साहन गरेको पनि आशंका गरे।

उनले प्रश्न गरे, ‘सरकार उहाँहरूलाई के भनिरहेको छ? सरकारको भूमिका के छ?’ निर्वाचन आयोग पनि राजपाबारे मौन बसेको भन्दै उनले असन्तुष्टी जनाए।

यद्यपी निर्वाचन आयोगले मंगलबार नै यसबारे राजपालाई २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति पनि असन्तुष्टी जनाए।