“सगरमाथाको गहिराइलाई” पद्मश्री पुरस्कार

रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई पद्मश्री साधना सम्मान


कवि नबराज पराजुली

बार्सिलोना /खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले वि.सं.२०७३ को पद्मश्री पुरस्कार नबराज पराजुलीको कविता संग्रह सागरमाथाको गहिराइलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानले चयन गरेको पाँच उत्कृष्ट कृति मध्ये पराजुलीको कविता संग्रहलाई पद्मश्री दिने निर्णय गरेको हो।

यस अघि जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडू, राज सरगमको छाउघर, नबिन विभासको रोल्पा सुइना र नबराज पराजुलीको सगरमाथाको गहिराइ उत्कृस्ट पांच कृतिका रुपमा चयन भएका थिए।

पराजुलीलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद प्रदान गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए। यसैबिच वि.सं.२०७३ को पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

लामो समयदेखि साहित्य सृजना, साहित्यिक पत्रिकाको सम्पादन-प्रकाशन तथा श्रष्टाहरुलाई निरन्तर प्रोत्साहन गरेका कारण दुवै जनालाई सम्मानित गर्न लागेको प्रतिष्ठानले जनाएको छ। अभिनन्दनसहित सम्मानपत्र र संयुक्त रुपमा दुई लाख रुपैंया प्रदान गरिने संरक्षक लामिछानेले जानकारी दिए।

यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी,आख्यानपुरुष ध्रुबचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र बरिष्ट साहित्यकार बैरागी काइँला पद्मश्री साधना सम्मानबाट सम्मानित भईसकेका छन्।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले आगामी कोजाग्रत पूर्णिमाको दिन एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार हस्तान्तरण तथा श्रष्टाहरुलाई सम्मान गर्दै छ।

तस्बिर:- पराजुलीको फेसबुकबाट लिईएको हो।