आज ‘रेन्टरटेनमेन्ट’, झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्न पाइने


पोखरा – ‘रेन्टरटेनमेन्ट’को पछिल्लो सिजनको तयारी सकिएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर लेकसाइडस्थित व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक यो साँगीतिक ‘इभेन्ट’को तयारी पुरा भएको आयोजकले जनाएको छ । लेकसाइडस्थित ‘व्यञ्जन’ रेस्टुरेन्टमा भदौ १७ गते शनिबार २ बजेदेखि यो कार्यक्रम शुरु हुँदैछ ।

यो पटक हुन लागेको ‘रेन्टरटेनमेन्ट’ अघिल्ला सँस्करणको तुलनामा अझै विशेष हुने आयोजकले बताएको छ । व्यञ्जन रेस्टुरेन्टमा पत्रकार भेटघाट गर्दै आयोजकले यस्तो जानकारी दिएको हो । जक्शन डटकमको प्रस्तुतीमा हुने यो पटकको ‘रेन्टरटेनमेन्ट’लाई अघिल्ला सँस्करणहरुको व्यवस्थापन गर्दै आएको ‘ओम इभेन्ट्स’लाई नै आयोजकले पुनः व्यवस्थापनको जिम्मा दिएको छ ।

‘झरी, संगीत, नाच र फेशनको फ्युजन यो इभेन्टमा सहभागी हुनेहरुले महशुस गर्न पाउनेछन् ।’ व्यञ्जनका व्यवस्थापक मनोज भट्टले भने–‘ग्राहकहरुलाई मनोरञ्जनको प्याकेज नै उपलब्ध गराउनेछौँ ।’ सामान्यतः पोखरामा हुने इभेन्टको तुलनामा फरक भएकोले पनि ग्राहकहरु यो ‘इभेन्ट’लाई व्यग प्रतिक्षा गरेर बसिरहेको भट्टले बताए ।

त्यस्तै कार्यक्रमका प्रस्तुतकर्ता जक्शन डटकमका व्यवस्थापक तथा ओम इभेन्ट्सका अरुण गिरीले कार्यक्रम पूर्ण रुपमा व्यवस्थित हुने दाबी गरे । ‘हामीलाई यसअगाडिका इभेन्टबाट पनि केहि अनुभव भैसकेको छ । र, ग्राहकको उपस्थितीको बारेमा पनि हामी जानकार छौँ ।’ गिरीले भने–‘व्यवस्थापनमा कुनै समस्या हुन दिने छैनौँ ।’ उनले यो पटक झरीमा मोडलहरुलाई ¥याम्पमा उतारिने पनि बताए । ‘समर थिममा हामीले मोडलहरुलाई ¥याम्पमा उतार्ने तयारी गरेका छौैँ ।’ उनले भने–‘यसले अझै कार्यक्रमको ग्ल्यामर बढाउने हामीले ठानेका छौँ ।’

झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्ने थिमको यो इभेन्टलाई यसअगाडि निकै रुचाईएको थियो । यो कार्यक्रमकै लागि पोखरासँगै काठमाण्डौ, चितवन, बुटवल, धरान, दमौली लगाएतका स्थानबाट पनि ‘पार्टी लभर’हरु पोखरा आउने गरेका छन् । यो पटक ‘रेन्टरटेनमेन्ट’मा एक हजार भन्दा बढि मानिसहरु आउने आयोजकको अनुमान छ । ‘रेन्टरटेनमेन्ट’बाट हुने नाफा मध्येको १५ प्रतिशत रकम तराईका बाढी पीडितहरुलाई राहत स्वरुप उपलब्ध गराउने ‘व्यञ्जन’ले बताएको छ ।