मिस कल्चर नेपालको ट्यालेन्ट शो


पोखरा – ‘हाम्रो संस्कृति, हाम्रो पहिचान लोप उन्मुख सँस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिले आयोजना गरेको मिस कल्चर नेपालको चौंथो संस्करण अन्तर्गत ट्यालेन्ट शो सम्पन्न भयो ।

कार्यक्रममा चौधजना प्रतिस्पर्धिहरूले आ–आफ्नो मौलिक प्रतिभा प्रस्फुटन गरेका थिए । अडिसनमा उपस्थित २५ जना मध्येबाट १४ जनालाई छनौट गरी ट्यालेन्ट राउण्डमा प्रवेश गराइएको आयोजकले जनाएको छ । ट्यालेन्ट राउण्टको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा लेखानाथ उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पुष्पाञ्जलीले लिएको नारा पोखराको पर्यटन प्रवद्र्धन सँग जोडीएको हुनाले संस्कृतिको संरक्षण गर्नका निमित्त यस्ता कार्यक्रमहरू आवश्यक रहेको र जसले गर्दा पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत अनन्त कोइरालाले यस्ता कार्यक्रमहरूमा महानगरपालिका समेत हातेमालो गर्न तयार रहेको बताए ।

कार्यक्रममा मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कृष्ण नेपाल, सिजि ब्रोअरी नेपालका रिजनल सेल्स म्यानेजर मनोज घिमिरे, साँग्रीला स्प्रीरिटका सेल्स म्यानेजर किशोर कोइराला, राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालकी केन्द्रीय महासचिव सुमन गुरुङ, आइएमइका म्यानेजर किशोर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सिजि ब्रोअरीको मुख्य प्रायोजनमा र साँग्रीला स्प्रीरिटको सहप्रायोजनमा संचालित उक्त कार्यक्रमको विजेतालाई भिजि अटो मोवाईलबाट प्रायोजित सुजुकी लेट्स स्कुटर प्रदान गरिने संस्थाकी अध्यक्ष शोभा गौतमले बताइन् ।

कार्यक्रमको निणार्यकमा सौन्दर्यकर्मी हिरा भण्डारी, नृत्य निर्देशक श्याम सिंह, समाजसेवी जाग्रीत भट्टराई, मिस कल्चर पश्चिमाञ्चलकी बिजेता मञ्जु थापा, मिसेस कल्चर नेपालकी थर्ड रननर–अफ रिन्जी पुन रहेका थिए भने कार्यक्रमको फाइनल यही असोज ३ गते सभागृह हलमा हुने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।