सरकार ! बेईज्यत भो:-”दिल्ली स्पेनीस दूताबासले,नेपालको मेडिकल रिपोर्ट मान्दैन”


-वसन्त रानाभाट

बार्सिलोना/ स्पेनमा रहेका नेपालीहरुलाई परिबार पुनर्मिलनको प्रक्रिया दिनप्रतिदिन जटिल बन्दै गएको छ। प्रक्रियाका लागि नै दिल्ली स्थित स्पेनिस दूताबासमा पटक पटक धाउनु पर्ने तथा बिचमा अनाबश्यक झन्झट व्योहोर्नु पर्ने हुँदा पनि झन् जटिल बन्दै गएको हो।

परिबार पुनर्मिलनको प्रक्रियामा बुझाउनु पर्ने मेडिकल रिपोर्ट समेत दिल्ली कै अस्पतालमा पुगेर बनाउनु झन्झट छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले नेपालका अस्पतालबाट बनाईएको रिपोर्ट दिल्ली दूताबासमा मान्यता नदिनु नेपालको स्वास्थ्य क्षेत्रकै बेईज्यत भएको बताउँछन्।

उनले भने,”हाम्रा परिबारले दिल्लीको स्पेनिस दूताबासमा पेश गर्नु पर्ने, मेडिकल रिपोर्ट,नेपालका अस्पतालबाट बनाईएको मान्यता दिईदैन,यो सरासर गलत हो। कि त स्पेनको परराष्ट्र मन्त्रालयले नै नेपालका अस्पतालमा बनाईएको रिपोर्ट किन मान्य छैन कारण सहित बोल्नु पर्यो,हैन भने दिल्ली दूताबासले गरेको गल्तिलाई तत्काल सच्याउनु पर्छ।”

केहि बर्ष पहिलेसम्म आफ्नै परिबार स्पेन ल्याउदा नेपालको मेडिकल रिपोर्टले मान्यता पाएको भए पनि पछि आएर हटाईएको सापकोटाले बताउछन्।

१८ महिना बितिसक्यो:-अझै परिवार ल्याउन पाईएन  

एनआरएनए स्पेनमा महासचिव कृष्णप्रसाद भुसालले स्पेनमा परिबार ल्याउन १८ महिना अघि देखि प्रक्रिया थालेको भए पनि अझै ल्याउँन नसकेको गुनासो पोखे। दिल्ली स्थित स्पेनिस दूताबासको मनपरीका कारणले नै आज धेरै नेपालीहरुले दुख झेलीरहेको भुसालले बताए।

उनले भने, फ्यामिली पेपर पास गर्न ५-६ महिना स्पेनमा नै बित्छ। फेरि दिल्लीमा डकुमेन्ट बुझाउन मात्र ३-४ महिना कुर्नु पर्ने।उता डकुमेन्ट पेश गरेको ५-६ महिना पछि पनि दिल्लीबाट अनुगमन टोली नेपाल नपुगे पछि अहिले धेरै नेपालीहरु समस्यामा परेका छौ। बिगत १८ महिना देखि म आफैँ यसैको तनावमा छु।”

दिल्लीमा एजेन्टले यसरी लिन्छ चर्को रकम:-

भिसा शुल्क सहित अनुगमन खर्चका लागि( टोलि नेपाल आउन /जानका लागि) दूताबासमा ४२ हजार ५ सय भारतीय रुपैयाँ बुझाउनु पर्ने भए पनि नेपालीहरु चर्को रकम बुझाउँदै आएका छन्। दिल्लीमा नै बसेर परिबारलाई प्रक्रिया गर्न लगाउँदा झन्झट र तनाव हुने हुँदा सिधै एजेन्ट मार्फत रकम बुझाउने गरेका हुन्।

स्पेनमा परिबार ल्याउने प्रक्रिया गरिरहेका एक नेपालीले भने,” मेडिकल रिपोर्ट बनाउदा पनि सहयोग पाईने,दिल्ली स्थित नेपाली दूताबासमा छाप हान्न जानु पर्यो डकुमेन्ट बुझाउनु पर्यो,सबै झन्झट भन्दा ८०-८५ हजार रुपैयाँ एजेन्टलाई बुझाए सबै काम गरिदिन्छ,परिबार पनि लामो समय दिल्ली बस्न परेन।”

स्रोतका अनुसार एजेन्टहरुले परिबारको संख्या अनुसार फरक फरक रकम लिदै आएका छन्। झन्डै ९८ प्रतिशतले नै यसरी  चर्को रकम बुझाएर एजेन्ट मार्फत नै काम लगाउने गरेको पाईन्छ।

के- हो,परिबार पुनर्मिलनको प्रक्रिया ?

स्पेनमा अस्थायी वा स्थायी रुपमा काम गर्ने अनुमति पाए पछि (रेसिडेन्सी कार्ड) स्पेन सरकारले परिबार ल्याउँन समेत अनुमति दिएको छ। यसैको प्रक्रियालाई स्पेन स्थित नेपालीहरुले परिबार पुनर्मिलनको प्रक्रिया भन्दै आएका हुन्।

स्पेनमा बस्ने अनुमति पाए पछि नेपालमा रहेका श्रीमान् /श्रीमती वा  १८ बर्ष मुनिका छोराछोरीहरुलाई यतै रहने गरी  ल्याउने प्रक्रिया सुरु गरिन्छ। प्रक्रिया अन्तर्गत,परिबार रहनका लागि मापदण्ड अनुसारको घर नगरपालिकाबाट अनुगमन पछि स्विकृत हुनुपर्छ।

घर स्विकृतको प्रमाणपत्र सहित, ब्यक्तिको आम्दानि श्रोत साथै कर दायारालाई पूर्ण रुपमा पालाना गरिएको सम्बन्धित कागजात,नाता प्रमाणीकरणको अनुगमन पछि स्पेन सरकारले परिबार पुनर्मिलनका लागि सकारामत्क रिजल्ट दिनु पर्छ। यसलाई यहाँ स्थित नेपालीहरुले बोलीचालीको भाषामा “फ्यामिली पेपर पास” भन्दै आएका छन्।

स्पेनमा प्रक्रिया सम्पन्न गरे पछि थप प्रक्रिया दिल्ली स्थित स्पेनिस दूताबासबाट सुरु हुन्छ। स्पेनको कन्सुलर सेवा काठमाडौमा रहे पनि परिबारको भिसा प्रक्रियाका लागि दिल्ली स्थित स्पेनिस दूताबासमा नै पुग्नु पर्ने बाध्यता छ । यस्तै दिल्ली दूताबासबाट कागजातमा उल्लेख गरिएका नातासम्बन्ध बारे थप अनुगमनका लागि नेपालमा नै पुगेर सोधपुछ गर्ने गरेको छ।

अनुमगन टोलिलाई पनि रकम:-दोष लिनेको कि, दिनेको ?

दूताबासबाट अनुगमनका लागि पुग्ने भारतीयहरुले बिभिन्न बाहानामा चर्को रकम असुल्ने गरेका छन्। लामो समय सम्म अनुगमनको पर्खाईमा रहेका परिबारले भिसा पाईदैन कि भन्ने डरले रकम थमाउँने गरेको बताउँछन्।अनुगमनमा पुग्नेले सोधपुछको क्रममा मिलाएर पैसा माग्ने गरेको पिडितहरुले बताउँदै आएका छन्।

रकम बुझाएका एक पिडितले नाम नबताउने सर्तमा भने,”महिनौ देखिको पर्खाइमा बस्यो रकम नदिए,भिसा नै लाग्दैन भन्ने डरले ५० हजार रुपैयाँ दियौ।” अनुगमनका लागि कोहि सम्बन्धित परिबारको घरमा नै पुग्ने गरेका छन् भने कतिपयले होटलमा बोलाएर सोधपुछ गर्ने गरेका छन्।

नियम परिबर्तनले थप झन्झट

दूताबासले एक सूचना जारी गर्दै बिभिन्न कागाजपत्रहरु स्पेनिस बिशेष अनुवादकहरु (सोन ट्रासलेटर) मार्फत गराउनु पर्ने नियम बनाएको छ।अगष्ट १६ तारिख देखि लागु भएको यो नियमसँगै मेडिकल रिपोर्ट,जन्मदर्ता,बिबाहदर्ता लगायतका कागजपत्रहरु सोन ट्रासलेटर मार्फत गराउनु पर्ने हुँदा प्रक्रिया झन् ढिलाई हुने देखिएको छ।

दूताबासले नियम परिबर्तन बारे जारी गरेको सूचना

त्यसो त दिल्लीमा डकुमेन्ट बुझाउनको लागि मात्र ३ देखि ५ महिना सम्म कुर्नु पर्ने बाध्यता रहेको छ। भर्खर स्पेनबाट “फ्याम्ली पास” गराएका एक नेपाली दीपक भट्टराई भन्छन्,”यता तिरको काम ५-६ महिना लगाएर सक्कियो,तर अब दिल्लीमा डकुमेन्ट बुझाउने डेट जनवरीमा मात्र पाईयो,अब कुर्नु बाहेक के नै बिकल्प रह्यो र ?”

जनबरी देखि स्पेनिस नयाँ राजदूत परिबर्तनसँगै बिभिन्न प्रक्रियामा झन् कठिन बन्दै गएको छ।

के भएमा सहज हुन्थ्यो ?

नेपाल सरकारले हालै मात्र स्पेनमा नेपाली दूताबास स्थापना गर्ने निर्णय गरेको छ। दूताबास स्थापना सँगै नेपालीहरुले भोगेका समस्यालाई कुटनीतिक माध्यमद्वारा जानकारी गराउने बाताबरण भने मिल्ने देखिन्छ। तर यी सबै समस्याहरु नेपालबाट भोग्नु पर्ने हुँदा स्पेनको कुटनीतिक निकाय नेपालमा हुन जरुरी छ।

दिल्ली स्थित स्पेनिस दूताबासले भारत बाहेक नेपाल,भुटान,माल्दिभ्स र श्रीलङ्कालाई पनि हेर्दै आएको हुँदा समस्याको तत्काल समाधान गर्न निकै जटिल देखिन्छ। तर दिल्लीमा डकुमेन्टहरु पठाउने काम काठमाडौको बत्तीसपुतलीमा रहेको स्पेनिस कन्सुलर कार्यालयबाट हुन सकेमा दिल्ली जाने आउने झन्झट कम हुन सक्थ्यो।

यसैबीच एनआरएनए स्पेनले यिनै समस्याहरुलाई समाधानको लागि तत्परता देखाउँदै स्पेन कै परराष्ट्र मन्त्रालयको ध्यानआकर्षण गराउन तयारी थालेको छ। यस्तै नेपालको परराष्ट्र मन्त्रालय मार्फत पनि दिल्ली स्थित स्पेनिस दूताबासमा समस्याहरु बारे जानकारी गराउन पहल गर्ने संघले जनाएको छ।