खुल्ला तारा खेल प्रतियोगिता को उपाधि नेपाल छन्त्याल संघलाई


पोखरा – स्वर्गीय अमृत प्रसाद शेरचन स्मृती खुल्ला तारा खेल प्रतियोगिता २०७४ को उपाधि काठमाण्डौंको नेपाल छन्त्याल संघले जितेको छ । थकाली सेवा समिति पोखराको आयोजनामा भएको उक्त प्रतियोगितामा छन्त्याल संघले १ सय ३८ अंकका साथ उपाधि रक्षा गरेको हो । १२ टिमलाई पछि पार्दै उपाधि जितेको छन्त्याल संघले उपाधि सहित ५५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भयो ।

दाना तातो पानी मगर समाज म्याग्दी टाईअफमा दोश्रो भयो । दोश्रो भएको म्याग्दीको टिमले पुरस्कार स्वरुप ३० हजार प्राप्त गर्यो । दाना तातोपानी र म्याग्दी मगर समाज १ सय ३४ अंकका साथ दोश्रो भएपछि टाइअफमा दाना दोश्रो भएको हो । एक÷एक डोर हान्दा दानाले ५ र म्याग्दी मगर समाजले भने ४ अंक ल्याएका थिए ।

तेश्रो भएको म्याग्दी मगर समाज कास्की, पोखराले २० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्न सफल भएको प्रतियोगिताका संयोजक जुम भट्टचनले बताए । प्रतियोगितामा सर्वश्रेष्ठ धनुधर म्यागदी आर्चरी क्लव आरेभिर वेनीका गजेन्द्र बुढाथोकी घोषित भए । उनले ३३ अंकका साथ सर्वश्रेष्ठ धनुधर अर्थात उत्कृष्ट खेलाडी घोषित भएका हुन । नेपाल छन्त्याल संघ कास्कीका दलमान छन्त्यालले ९ खोल गरी विशिष्ट धनुधरको उपाधि हात पारे ।

विजयी खेलाडीहरुलाई स्वर्गीय अमृत शेरचनकी श्रीमती शोभा शेरचन, समितिका अध्यक्ष विश्वमोहन गौचन, सल्लाहकार अजित शेरचन, डा.सोमतसिंह तुलाचन, कार्यक्रम संयोजक जुम भट्टचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन, समाजसेवि रमेश भट्टचन, क्याप्टेन दल बहादुर शेरचन लगायतले पुरस्कार वितरण गरेका थिए । थकाली समुदायको परम्परागत तारा खेल भएकोले गर्दा उक्त खेलको संरक्षणको लागि उक्त प्रतियोगिता आयोजना गरिएकोे प्रतियोगिताका संयोजक जुम भट्टचनले बताए ।

एक दिने उक्त प्रतियोगिताको मंगलबार विहान नेपाल आर्चरी संघका केन्द्रिय पुर्व अध्यक्ष हरि ध्वज तुलाचनले उद्घाटन गर्दै नेपाली परम्परागत खेलको संरक्षण गर्न यस्ता प्रतियोगिता आवश्यक भएकोमा जोड दिएका थिए । प्रतियोगितामा प्रभु बैंक उप–प्रायोजक रहेको छ भने साग्रिला डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकले समेत सहयोग गरेका छन् ।