एनआरएनए यूके निर्वाचनमा त्रिपक्षीय भीडन्त


लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन नजिकिंदै जादा जोड घटाउ सुरु भएको छ । यो जोडघटाउंसगै आगामी ९ सेप्टेम्बर (शनिबार) हुने निर्वाचनमा अध्यक्ष पदमा कसले बाजी मार्ला भन्ने चासो हवात्तै बढेको हो । अध्यक्ष पदका प्रत्यासी कृष्ण तिमल्सेना, योगकुमार फगामी र हिराधन राईको दौडधुप, सामाजिक सञ्जाल र सञ्चार माध्यममा आउने अन्तर्वार्तामा व्यस्त छन् ।

सरल स्वभावका तिमल्सेनालाई बेलायतमा रहेका अगुवाहरुको बलियो साथ छ । बेलायतमा अग्रस्थानमा रहेका संघसस्थाले औपचारिक रुपमा कसैको पक्षमा मुख नखोलेपनि भित्री रुपमा तिमल्सेनालाई साथ दिएका छन् । एमाले निकट प्रवासी मञ्च यूके, कांग्रेस निकट जनसम्पर्क समिति, गुरुङहरुको बलियो संस्था तमुधिं यूके र सहारा यूकेको बलियो साथ रहेको श्रोतको दावी छ । यद्यपि उनीहरुले निर्वाचन वातावरण बिग्रने र समाजमा आगामी दिनमा सबैको साथ चाहिने भएकाले औपचारिक निर्णय भने नगर्ने श्रोत बताउंछ ।

लामो समयसम्म सेफका रुपमा काम गरेका र सेफ एसोसिएसन यूकेका अध्यक्ष रहेका तिमल्सेनासंग सेफहरु पनि संगै छन् । ग्रासरुट लेभलबाट संघर्ष गएर आएका कारण तिमल्सेनालाई सर्वसाधारणदेखि अग्रजहरुसम्मको आर्शीवचन छ । उनको च्यारिटी कर्मले पनि नयां नेतृत्व उनकै पक्षमा जाने विश्लेषण छ । अध्यक्षका अर्का प्रत्यासी योगकुमार फगामीलाई पूर्वअध्यक्ष योगन क्षेत्री र डमर घलेको सहयोग छ । क्षेत्रीको विवादित कार्यकालमा बलियो साथ दिएवापत योगेन क्षेत्रीले फगामीलाई साथ दिएका छन् । तर, पछिल्लो समय क्षेत्रीले बेलायतस्थित पत्रकारहरुलाई असभ्य र अशिष्ट शब्द प्रयोग गर्दै गालीगलौज गरेपछि प्रकाशित समाचारले ब्याकफायर गरेको कतिपयको बुझाइ छ ।

फगामीलाई जातीय संस्था मगर संघको साथ छ । अर्का अध्यक्षका प्रत्यासी हिराधन राईलाई पूर्व प्रहरी शिवजी श्रेष्ठले साथ दिएका छन् । आफ्ना नातेदार समेत पर्ने भएकाले श्रेष्ठकै बलमा राईले अध्यक्षमा दावी गरेका हुन् । त्यस्तै, जातीय संस्था किरात राईको पनि उनलाई समर्थन छ । निर्वाचनमा २२ सय मत आउने समाचार विभिन्न अनलाइनमा लेखाउंदै राई स्वयंले सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि उनी झन् कमजोर मान्न थालिएको छ । तीन हजार भोट खस्ने अनुमान गर्दा २२ सय राईको पक्षमा देखिन्छ भन्ने समाचारले हास्यांस्पद बनाएको छ ।

पछिल्लो समयमा निर्णायक ठानिएको साउथ इष्ट क्षेत्रबाट उपाध्यक्ष उम्मेदवार भएका दीपक श्रेष्ठले राईलाई छाडेर तिमल्सेनाको समर्थन गरेपछि राई अझ कमजोर भएको देखिन्छ । करिब ३६ सय मतदातालाई चार स्थानमा मतदान केन्द्र राखिएको छ । जसमा अल्डरसट १६ सय ९५, ह्यारो ६ सय ७३, लेस्टर ६०६, प्लमस्टिडमा ६ सय ७१ जना मतदाता छन् । त्यसबाहेक ६० जना मतदाताका लागि पोस्टल व्यवस्था गरिएको छ । हालसम्मको विश्लेषणमा तिमल्सेना पहिलो, फगामी दोस्रो र राई तेश्रो स्थानमा आउने विश्लेषकहरुको अनुमान छ ।

वेस्ट लण्डनबाट ६५ प्रतिशत, अल्डरसटबाट ३० प्रतिशत, साउथइष्ट लण्डनबाट ३५ प्रतिशत र लेस्टरमा ९२ प्रतिशत मत आफ्नो पक्षमा आउने तिमल्सेनाको दावी छ । कडा प्रतिष्पर्धी मानिएका अध्यक्षका अर्का प्रत्यासी योगकुमार फगामीको सबैभन्दा बढि भोट अल्डरसटबाट ६० प्रतिशत, मिडल्याण्डबाट ५ प्रतिशत, वेष्ट लण्डनबाट १५ प्रतिशत, साउथ इस्टबाट २५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । अर्का प्रत्यासी हिराधन राईको सबैभन्दा बढि साउथइस्टबाट ४० प्रतिशत, अल्डरसटबाट २० प्रतिशत, ह्यारोबाट २० प्रतिशत र लेस्टरबाट ३ प्रतिशत मत खस्ने अनुमान गर्दै कमजोर उम्मेदवारका रुपमा लिइएको छ ।