निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच छलफल


काठमाडौँ -निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच आगामी मंसिर १० र २१ गते हुने संघीय संसदको प्रतिनिधि सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार भएको छलफलमा निर्वाचनको कार्यतालिकाबारे छलफल भएको हो ।

बैठकबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारहरुको बन्द सूचीबारे जिज्ञासा राखेको बताए । जवाफमा आयोगले प्रधानमन्त्रीसमक्ष विभिन्न विकल्पहरु प्रस्तुत गरेको र त्यसैमा विस्तृत छलफल भएको यादवले जानकारी दिए ।

त्यस्तै आजको बैठकमा मतपत्र छाप्ने विषय, तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको आचारसंहितालगायत विभिन्न विषयमा छलफल भएको थियो ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक सहमति नभई निर्वाचन कार्यतालिका तय गर्न नमिल्ने धारणा आयोगसमक्ष राखेको जानकारी दिए ।

उनले प्रत्यक्ष तर्फको उम्मेदवारको सूचि तय गरेर मात्रै समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि बुझाउने गरी प्रतिनिधि सभा निर्वाचन कार्यतालिका बनाउन उपयुक्त हुने पार्टीको अडान पनि राखे ।

राजनीतिक सहमतिको आधारमा मात्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका तय गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको नेता निधिले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव तथा निर्वाचन आयोगका आयुक्तहरु सहभागी थिए । प्रमुख निर्वाचन आयुक्त यादवका अनुसार आयोगले छिट्टै बैठक बसेर कार्यतालिका सार्वजनिक गर्नेछ ।