र्‍याप सिकाउन मिल्दैन, यो प्राकृतिक हुन्छ, आफैं आउनुपर्छ : लाहुरे


  राजाराम पौडेल, पोखरा – आशिष राना लाहुरे बाल्यकालमा लजालु स्वभावका थिए । कक्षा ६ पढ्न थालेपछि उनी र्‍याप गीत सुन्न थाले । आशिष लाहुरेका छोराछोरीको संगतपछि यसतर्फ आकर्षित भएका हुन् । लाहुरेका छोराछोरीले विदेशबाट ल्याएका हिपहप गीतका सिडीमार्फत उनले हिपहप कल्चर हेर्न पाए । यसरी उनी हिपहप संस्कृतिसँग नजिकिए । बिस्तारै रुचि बढ्दै त गयो तर स्कुल–कलेजका कार्यक्रममा स्टेज चढ्ने आँट गरेनन् ।६ वर्षअघि पोखरामा आयोजित पहिलो नयाँबजार साँझमा स्टेजमा प्रस्तुति दिएपछि उनमा उत्साह थपियो । रानाको प्रस्तुति हेरेर तेरो भविष्य उज्वल छ भनी प्रशंसा गर्नेहरू पनि प्रशस्तै थिए ।

त्यसपश्चात् उनले ‘मेरो सोल्टा’ गीत रेकर्ड गरे । पहिले मोबाइलमा रेकर्ड गरेर युट्युबमार्फत रिलिज गरिएको उक्त गीतलाई दर्शक–श्रोताहरूले मन पराएपछि स्टुडियोमा रेकर्ड गरी पुन: सार्वजनिक गरियो । त्यसपछि उनको चर्चा पोखारामा मात्र सीमित रहेन । आशिषले इजी १२ सँग ब्याटल गरे जसलाई धेरैले रुचाए । जब उनले युनिक पोयटसँग ब्याटल खेले, उक्त ब्याटल हिट भयो ।

लाहुरेले यतिबेला आफ्नो पहिलो एल्बम ‘चुप लाग’ सार्वजनिक गरेका छन् । एल्बममा सातवटा गीत छन् जसमा नाच्नसमेत मिल्छ । उक्त एल्बमका तीनवटा गीत १५ लाखले हेरिसकेका छन् । बनावटी, साथी हो, नेपहपको बाटो गीतलाई भ्युअरले रुचाएपछि उनले सुपरागा गीतको भिडियो समेत तयार पारिसकेका छन् ।

पोखरामा पहिले–पहिले अन्डर ग्राउन्डका रूपमा रहेका हिपहप ब्यान्डहरू अहिले बाहिर आउन थालेकोमा उनी खुसी छन् । पोखरामा र्‍यापलाई माया गर्नेहरू धेरै छन् । खुसी हँुदै आशिषले भने— अब पोखरामा अरू थुप्रै लाहुरे जन्मन सक्छन् ।

र्‍याप गीत गाउन त्यति सजिलो नहुने उनले बताए । रातभर बसेर प्राटिक्स गर्नुपर्छ, सोच्नुपर्छ, क्यारेक्टरमा ढल्नुपर्छ, –उनी भन्छन् । र्‍याप आफैं आउनुपर्ने लाहुरे बताउँछन् । र्‍याप सिकाउन मिल्दैन, यो प्राकृतिक हुन्छ । अर्थात् यो सिकेर जानिने कुरा होइन, अलिअलि टेक्निक मात्र सिकाउन सकिन्छ, –आशिषले प्रस्ट्याए ।

उनको लाहुरे एन्ड द बटालिएन ब्यान्ड छ । यो ब्यान्ड स्थापना भएको तीन वर्ष भयो । मुख्य भोकलिस्ट उनी आफैं रहेको यो ब्यान्डमा लिड गितारमा दीपक लामा, बेस गीतारमा असिम गुरुङ तथा ड्रममा सरोज कार्की छन् ।

उनको नाम लाहुरे रहनुको पनि छुट्टै कारण छ । उनका हजुरबुबा ब्रिटिस आर्मीका लाहुरे थिए । घरपरिवारको इच्छा पनि उनलाई लाहुरे बनाउने थियो । आशिषले आफूलाई ब्रिटिस आर्मी बनाउन विभिन्न प्राटिक्स गर्न थाले, हेयर स्टाइलदेखि शरीरको ढाँचा सबै ब्रिटिस आर्मीको जस्तो बनाए, तर उनी छनौट भएनन् । यद्यपि उनको यो नयाँ लुक्स, हेयर स्टाइल आदि देखेर उनीसँगै पढ्ने साथीहरूले उनलाई लाहुरे भनेर बोलाउन थाले । यो नाम उनलाई पनि मन पर्‍यो ।

आशिषले एक शोको पारिश्रमिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लिने गरेका छन् । र्‍याप ब्याटल भनेको एक–अर्कालाई नराम्रो भनेर अघि बढ्ने चलन हो । यसको सुरुवात काला र गोराबीचको द्वन्द्वबाट भएको थियो । ब्याटल र्‍याप, ब्रेकडान्स, ग्राफिक्स डिजाइन, डिजे नेपालमा पनि रुचाइएको छ । र्‍याप भनेको हिपहपभित्रको एउटा भाग हो । नेपालको र्‍यापलाई नेपहप भनिन्छ ।

लाहुरेका फ्यान प्रसस्तै छन् । प्रपोज पनि आउँछन्, धेरैले माया देखाउँछन्, तर उनले स्पेसल साथी भने बनाएका छैनन् । राना भन्छन्– पहिले त स्पेसल साथी थिइन तर निरन्तरता दिन सकिनँ । अहिले शतप्रतिशत समय संगीतलाई दिएको छु ।

आशिष पोखराको पल्स रेकर्डिङ स्टुडियोसँग आबद्ध छन् । हाल हिमालयन रोडिजमा निर्णायकको भूमिकामा देखिने आशिषले चलचित्र ताण्डवमा मुख्य भूमिका समेत निर्वाह गरेका छन् ।  कान्तिपुर पब्लिकेसन्स प्रा.लि.द्दारा प्रकाशित “साप्ताहिक” बाट साभार  गरिएको ।