२ नं. प्रदेशको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने पोख्रेलको ठोकुवा


दाङ – एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले  २ नं. प्रदेशको निर्वाचनमा पनि एमाले नै पहिलो शक्ति बन्ने ठोकुवा गरेका छन् । राजपाका महामन्त्री, माओवादी, उपेन्द्र यादव लगाएतका दलहरूबाट  एमालेमा केन्द्रीय नेताहरू एमालेमा पार्टी प्रवेश गर्ने क्रम बढ्दै जानुले त्यही संकेत गर्ने उनको दाबी थियो ।

अाइतबार दाङको तुलसीपुरमा अायोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश नं. २ को निर्वाचनलाई जनमत संङग्रह जस्तै हुने बताए । संविधान संशोधन बिना निर्वाचन हुनै सक्दैन भन्ने पक्ष र संशोधन नगरी निर्वाचन गर्नुपर्छ भन्ने पक्ष बीचको जनमत संङग्रहका रुपमा असोज २ को निर्वाचनलाई लिनु उपयुक्त हुने उनको भनाइ छ । कपिलवस्तु लगाएतका क्षेत्रमा सम्पन्न निर्वाचनमा राजपा नेपाल लगाएतका दलहरूले निर्वाचन बहिष्कार गर्दा पनि ७७ प्रतिशत मतदान भएको हुँदा संविधान संशोधन बिना निर्वाचन हुन सक्दैन भन्नेहरू असफल भएको बताए ।

प्रदेश र प्रतिनिधी सभाको निर्वाचन एकै चरणमा गराउँदा एमाले विजयी बन्ने त्रासले सरकारले मंसिरको निर्वाचन दुई चरणमा गराउन खोजेको उनको आरोप छ ।

पहिलो चरणमा पराजित भएपछि दोस्रो चरणमा गठबन्धन गर्ने उद्धेश्यका  साथ दुई चरणमा निर्वाचन गराउन खोजिएको भएपनि अब एमाले सँगै एक्लै भिड्न सक्ने हैसियत कुनै दलको नभएको जिकिर गरे ।

दाङ प्रदेश नं. ५ को राजधानी बन्नेमा कुनै आशंका नगर्न उनको आग्रह थियो । तर, यो साझा प्रयासबाट मात्रै संभव हुने उनले बताए ।

अर्को प्रसंगमा पोख्रेलले राजा महेन्द्रले गर्न नसकेको काम नेकपा एमालेका अध्यक्ष  केपी ओलीले गरेर देखाएको  बताए ।

पूर्व मन्त्री समेत रहेका पोख्रेलले राष्ट्रियताको सवालमा केपी ओलीले राजा महेन्द्रका भन्दा राम्रो काम गरेकै कारण सत्ताबाट हटाउने षडयन्त्र भएको दाबी गरेका हुन् ।

‘चीनसँगको ऐतिहासिक सम्झौता होस् वा नाकाबन्दीको समयमा भारतको ज्याजती विरुद्ध ओलीको अडान त्यो अनुकरणीय छ ।’ नेता पोख्रेलले भने, ‘राष्ट्रियताको सवालमा एमालेले निर्वाह गरेको भूमिकाबाट आत्तिएका देशी विदेशी शक्तिले ओलीलाई पदबाट  हटाउने षडयन्त्र भएपनि जनता जागेर एमालेलाई सम्मान गरेको उनको धारणा थियो ।

उनले नेपालगञ्जलाई औद्योगिक सहर, कपिलवस्तुलाई पर्यटन सहर र दाङलाई प्रदेश नं.को प्रशासनिक सहरका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।