मेस्सीको ह्याट्रिक,बार्सिलोनाको शानदार जित


बार्सिलोना/लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पानियोलमाथि शानदार जित हात पारेको छ । यससँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

 

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । ३५ औं मिनेटमा उनले नै दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अगाडि रह्यो ।

६७ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । बार्सिलोनाका लागि उनको यो ३८ औं ह्याट्रिक हो ।८७ औं मिनेटमा जेरार्ड पीके र ९० औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो ।जितसँगै बर्सिलोना ३ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा छ भने रियल मड्रिड ५ अंकका साथ छैटौं स्थानमा छ ।