युटुबमा ‘सुर्के थैली खै’ लाई ‘कुटुमा कुटु’ ले उछिन्यो


काठमाण्डौ – युटुबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’को नाममा थियो । लामो समयसम्म नेपाली गीतसंगीतमा एकछत्र राज गरेको यो गीतलाइ अब अर्को एक चलचित्रकै गीतले उछिनेको छ ।

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीत अब सर्वाधिक हेरिने नेपाली गीतको पहिलो नम्बरमा उक्लिएको छ । यो गीतलाइ यो समाचार तयार पार्दासम्म २ करोड १९ लाख ५५ हजार भन्दा बढी पटक हेरिएको छ । यस्तै, ‘सुर्के थैली खै’ बोलको गीतलाइ २ करोड १८ लाख १ हजार भन्दा बढी पटक हेरिएको छ । यी दुबै गीतमा राजनराज सिवाकोटीको संगीत छ ।

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’ले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको छ । शनिबार चलचित्रको व्यापार आक्रामक रहेको थियो । मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको चाप उच्च थियो । नेपाली चलचित्रले अहिले निरन्तर रुपमा सुखद व्यापार गर्दा चलचित्र क्षेत्रलाइ नै उर्जा मिलिरहेको छ ।