अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तीव्र


पोखरा – आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा ख्याती कमाएको अन्नपूर्ण हिमाल अन्र्तगत अन्नपुर्ण प्रथमको आधार शिविरमा गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ अन्नपूर्ण गाँउपालिका, कास्कीको विशेष सकृयतामा समुद्री सतहबाट चार हजार १३० मिटर उचाईको आधार शिविरमा महोत्सव गर्न लागिएको हो ।

अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुवँरका अनुसार महोत्सवसँगै अन्नपुर्ण आधार शिविरको पदयात्रा मार्गलाई थप व्यवस्थित गरी यहाँको आरोहणलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । “अन्नपूर्ण हिमाल प्रदेश नं ४ को मात्र नभएर समग्र नेपालकै गौरवपूर्ण स्थल हो,” उनले भने, “यहाँको आवश्यक पूर्वाधार विकास गर्दै अधिक संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने हाम्रो सोँच हो ।”

अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव मुल समारोह समितिको आयोजना, अन्नपुर्ण गाँउपालिका कास्की एवं पर्यटन उप–समिति छोम्रोङको व्यवस्थापन साथै विभिन्न सरकारी, गैर सरकारी संघ संस्थाको सहयोगमा २०७४ असोज २५ गतेदेखि २०७५ जेठ २० गते सम्म विभिन्न तीन चरणमा कार्यक्रमको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको कार्यक्रमको उद्घाटन ११ अक्टुवर (असोज २५) गते बुधवार अन्नपुर्ण आधार शिविरमा हुनेछ भने समापन जुन ३ (जेठ २०) अन्नपुर्ण आरोहण दिवसको अवसर पारीे घान्द्रुकमा गरिने छ ।  पहिलो चरणको मुख्य कार्यक्रमका रुपमा विश्वकै जेठो हिमालका रुपमा चर्चित अन्नपुर्ण प्रथम हिमालका प्रथम आरोही मौरिस हर्जोगको अर्धकदको सालिक शिलान्यास गरिने छ ।

उक्त अवसरमा मोरिस हर्जोग, कर्णेल घनबिक्रम राणा र सरदार आङ थार्के शेर्पाको परिवारका सदस्यलाई सम्मान, परम्परागत होटल व्यवसायको इतिहास झल्कने फोटो प्रर्दशनी, हिमाली तथा लेकाली वन्यजन्तुको अवलोकन, हिमश्रृङ्खलाको दृश्यावलोकन लगायतका कार्यक्रम गरिने प्रचारप्रसार उपसमिति संयोजक टंकराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार महोत्सव सम्पन्न गर्न ललित गुरुङको संयोजकत्वमा ३५ सदस्यीय मूल व्यवस्थापन समिति, १६ विभिन्न उप समिति, ७२ सदस्यीय सल्लाहाकार समिति निमार्ण गरिएको छ ।

गठित उपसमितिले आ–आफना जिम्मेवारीमा रहेका कार्यलाई तीब्र रुपमा अगाडि बढाएको उनले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न करिब एक करोड पाँच लाख खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवको लागि अन्नपुर्ण गाँउपालिकाको विनियोजित बजेट १० लाख, पर्यटन उपसमिति छोम्रोङबाट प्रारम्भिक चरणको खर्च रु १० लाख (पछि आश्यकता अनुसार थप्दै जान), त्यस क्षेत्रमा रहेका करिब ८० वटा स्थानीय होटल व्यवसायीबाट प्रति होटल २५ हजारका दरले रकम संकलन हुने र विभिन्न सरकारी गैर सरकारी संघ संस्थाको सहयोग प्राप्त हुने विश्वास लिइएको संयोजक गुरुङको भनाइ छ । पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविरको पहिलो पदयात्री एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए ।