नाम मात्रको २४ घण्टे संघर्ष विराम


एजेन्सी,

प्यालेष्टीनी उग्रवादी र इजरेलले एक अर्का विरुद्धको आक्रमण जारी नै राख्दा हमासले गाजामा घोषणा गरेको २४ घण्टे संघर्ष विराम भंग भएको जस्तो देखिएको छ।

इजरेलले संघर्ष विरामको पालना नगरेको भन्दै हमासले इजरेलमा थप रकेटहरु प्रहार गरेको छ। इजरेलले हमासको संघर्ष विरामलाई अस्वीकार गरेको छ।
प्रधानमन्त्री बेन्जमीन नेतन्याहुले भनेका छन्, “इजरेलले आफ्ना जनताको रक्षाका लागि गर्नु पर्ने सबै कुरा गर्नेछ।”

यि पछिल्ला गतिविधिले शनिवार दुवै पक्षले मानविय कारणका लागि पालना गरेका संघर्षविराम केहि लम्बीन सक्ने आशालाई निराशामा परिणत गरिदिएको छ।

यसैबिच अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई आइतबार फोन गर्दै, दुइपक्षिय द्वन्द्वलाई अन्त्य गर्ने गरी तत्काल नि:शर्त मानविय कारण सहितको युद्ध विराम गर्न आग्रह गरेका थिए।

त्यस्तो संघर्ष विरामलाई मुसलमानहरुको पवित्र महिना रमजानको अन्त्य गर्ने तयारी र राष्ट्र संघीय आग्रहको प्रतिक्रिया भनिएको थियो।
गाजामा रहेका सम्बाददाताहरु भन्छन्, इजरेली सेनाले हवाई हमला पुन: आरम्भ गर्दा गाजामा विभिन्न स्थानहरुमा विस्फोटका ठूला आवाजहरु सुन्न सकिन्छ भनी बिबिसी अन्लाईनले जनाएको छ।
गाजामा इजरेल र प्यालेष्टीनी उग्रवादीबीच पछिल्लो पटक संघर्ष शुरुभए यता एकहजार तीस जना प्यालेष्टिनीहरु मारिइसकेका छन् जसमध्ये धेरै गैरसैनिकहरु छन्। ४३ जना इजरेली सैनिक र दुई जना गैरसैनिकको पनि मृत्यु भएको छ।