पोर्चुगलमा नेपाली दाजुभाईमाथि चक्कु प्रहार,दाईको मृत्यु भाई घाईते


बार्सिलोना/पर्बत मल्लाज स्थायी घर भएका दुई नेपाली दाजुभाईलाई पोर्चुगलमा चक्कु प्रहार भएको छ। घटनामा ४४ बर्षिय हरिबहादुर जिसीको मृत्यु भएको छ भने ३८ बर्षिय ओम जिसी घाईते भएका छन्। दुई दाजुभाई झन्डै ५ बर्ष देखि पोर्चुगलमा बस्दै  आएका हुन्। मृतक जिसीका श्रीमती र एक ३ बर्षिय छोरी समेत पोर्चुगलमा नै रहेका छन्।

मंगलबार राती जिसीको छुरा प्रहारबाट हत्या भएको हो। घाईते भएका जिसीलाई अस्पताल पुग्ने बित्तिकै मृत घोषणा गरिएको थियो। मृतकका भाई जिसीको भने टाउकोमा चक्कु प्रहार भए पनि भाग्यबश गहिरो चोट लागेन। उनि हाल खतरा मुक्त छन्। अस्पतालले घाईते जिसीलाई डिस्चार्च गरिसकेको एनआरएनएन पोर्चुगलका निर्बमान अध्यक्ष भिम केसी कमलले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान,प्रत्यक्षदर्शी र घाईते जिसीका अनुसार छुरा प्रहार गर्ने पनि अर्का नेपाली नै हुन्। धादिङ् स्थायी घर अर्जुन सापकोटाले छुरा प्रहार गरेको आशंका गर्दै स्थानीय प्रहरीले खोजी कार्य तिब्र बनाएको छ। हत्या आरोपी सापकोटा हाल फरार छन्। नेपाली समुदायले समेत सामाजिक संजालमा सापकोटाको तस्बिर सार्बजनिक गर्दै खबर गर्न अनुरोध गरेका छन्। बैधानिक रुपमा नरहेका (कागजपत्र बिहिन) सापकोटा हालसम्म नेपाली समुदायबाट पनि सम्पर्क बिहिन छन्।

पोष्टमार्टम पछि शवलाई केहि दिनमा नै परिबारलाई बुझाउने तयारी अस्पतालले गरिरहेको बुझिएको छ। घटना लगत्तै युरोपको नेपाली समुदायबाट मृतकको परिबारलाई केहि आर्थिक सहयोग जुटाउने क्रम पनि सुरु भएको छ।

भाईलाई छुरा हान्ने योजना तर दाई परे

प्रत्यक्षदर्शी र घाईते जिसीसँग कुराकानी गरे पछि एनआरएनए पोर्चुगलका निर्बतमान अध्यक्ष केसीले भाईलाई चक्कु हान्ने योजना देखिए पनि दाई परेको घटनाक्रमबाट बुझिएको बताउँछन्। केसी भन्छन्,”घाईते जिसी र सापकोटाले चाईनिज रेष्टुरेन्टमा सँगै काम गर्थे। जिसी (भाई) ३-४ बर्ष देखि नै त्यही रेस्टुरेन्टमा काम गर्दै आएका हुन्। त्यहाँ अन्य ४-५ जना नेपालीहरुले पनि काम गर्छन्। सापकोटा (हत्या आरोपी) पनि केहि दिन अघि त्यही काम गर्न पुगेछन्। तर ४ दिनमा नै केहि बिबाद भए पछि साहुले उनलाई कामबाट निकालिदियो। तर ओमले कामबाट निकाल्यो भन्ने सापकोटालाई प्रतिशोधको भावाना जागेको बुझियो। आईतबार कामबाट निक्लियो र मंगलबार यस्तो घटना घट्यो।

मृतक हरिबहादुर जिसी

मंगलबार राति काम बिशेषले जिसीले दाईलाई पनि त्यतै बोलाएका रहेछन्। सोहि रेष्टुरेन्टमा काम गर्ने बिनोद मगर सँगै तिनै जना सँगै निस्किए। तिनै जनाको पिछा गर्दै हिडेको सापकोटा र जिसी (भाई) बीच  केहि बेर सामान्य बिबाद भयो तर अकस्मात जिसीलाई (भाई) टाउकोमा छुरी हान्यो,उनि ढले। भाई ढले पछि दाईले घोप्टि परेर जोगाए। तर सापकोटाले  जिसीका दाई माथि पनि छुरा प्रहार गरी भागे। जिसीको (दाई) कोखमा छुरा प्रहार भएको बुझिएको छ। अस्पताल पुग्ने बित्तिकै उनलाई मृत घोषणा गरियो। भाईको भने भाग्यबश टाउकोमा गम्भिर चोट लागेन। सापकोटाका निशानी भाई भए पनि अन्तत दाईलाई जोगाउँदा दाईले ज्यान गुमाए।अर्का प्रत्यक्षदर्शी मगर भने तत्काल साहुलाई खबर गर्न दौडिए। केहि मिनेटमा नै घटनास्थलमा पुलिस आईहाल्यो।”

झगडालु स्वभावका थिए सापकोटा

एनआरएनए पोर्चुगलका निर्बतमान अध्यक्ष केसीका अनुसार हत्या आरोपी सापकोटा निकै झोक्कि स्वभावका थिए। घटना पछि उनको बारेमा साथीभाईसँग सम्पर्क गरेर बुझ्दा निकै झगाडु स्वभावका रहेको पाईयो केसीले भने,’धेरै ठाउँहरुमा काम छोड्ने,झगडा गर्ने,घरमा रहदा पनि मिलेर बस्न नसक्ने रहेछन्। एक पटक खेतिमा काम गर्दै गर्दा उनले एम्बुलेन्स बोलाएछन्,सबै साथीहरुले कसलाई एम्बुलेन्स बोलायो भनेर छक्क पर्दा आफै हाँसेर एम्बुलेन्स चढेर गएको घटना पनि सुनाए।”

हत्या आरोपी अर्जुन सापकोटा

उनलाई चिन्नेजान्नेसँग कुराकानी गर्दा, “मानसिक सन्तुलन नगुमाएको भए पनि केहि डिप्रेस,सन्की र झोक्की स्वभाव रहेको बुझियो केसीले भने।”

युरोपको नेपाली समुदायमा संयम बन्न पाठ

विदेशमा नेपालीले नेपालीकै हत्या गरेको बिरलै सुन्ने गरिए पनि आजभोली घटना क्रम बढेको पाईन्छ। युरोप जस्तो बिकसित समाजमा बसेर पनि नेपाली समुदायमा यस्ता घटना घट्नुले नेपाली समुदाय कै शिर निहुरिने मात्र हैन गलत सन्देश समेत दिएको छ।

लेनदेन,नाता सम्बन्ध, झैँ झगडा आदि बिबिध कारणले पोर्चुगलको नेपाली समुदायमा दिनप्रति दिन नेपालीहरु बिचको बैमनस्यता बढीरहेका बेला जिसी घटना प्रकरणले संयम बन्न पाठ सिकाएको छ। घटनाको कारण र प्रकृति फरक खालकै भए पनि पछिल्लो क्रममा भडकिदै गएको युरोपको नेपाली समुदाय सजक बन्न जरुरी छ।