एनआरएन ग्लोबल सम्मेलन:-किन तातेन अझै चुनाबी माहोल ?  


बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलन आउँन एक महिना मात्र बाँकी रहँदा पनि खासै माहोल तातेको छैन। आगामी अक्टोबर १४ देखि काठमाडौमा हुने बिश्व सम्मलेन धेरै नजिकिदै गर्दा यसपटक खुलेर उमेद्वारी घोषणा गर्न नसक्दा माहोल तात्न नसकेको हो। त्यसो त आगामी नेतृत्वका लागि उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्तको नाम महिनौ अघि देखि चर्चामा नै छ।

पछिल्लो क्रममा बर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङको नाम पनि जोडिए पछि एनआरएन शिर्ष नेताहरु पनि अन्योलमा छन्। यसको आधिकारिताको बारेमा प्रष्ट हुन नसक्दा अन्य पदका आकाक्षीहरु समेत चुनाबी मैदानमा खुल्न सकेका छैनन्। एनआरएनको चुनावी माहोल नतात्नुका तिन कारणलाई यसरी केलाउन सकिन्छ।

पहिलो:-

आगामी नेतृत्वका लागि दुई जना अध्यक्षका दाबेदारका रुपमा बर्तमान उपाध्यक्षहरु भट्ट र पन्तको नाम महिनौ अघि चर्चामा नै छ। करिव १ बर्ष अगावै देखि अध्यक्षका प्रत्यासी ठानिएका दुवै जनाले अहिले सम्म आफ्नो पक्षमा अन्य पदका आकांक्षी उमेद्वारहरुलाई खुलाएर खडा गर्न सकेका छैनन्।

सातौ ग्लोबल सम्मेलन हुँदा ३ महिना अगाबै आकाक्षीहरुको चर्चा थियो। अध्यक्षमा शेष घलेनै दोर्हाउँने सुईको पाएका उमेद्वारहरु अन्य पदहरुमा धेरै अगाडी नै उमेद्वारी घोषणा गरेका थिए।  

दोस्रो:-

एनआरएन वृत्तमा आईसीसी सदस्य जमुना गुरुङ घलेको नाम पनि अध्यक्ष आकांक्षी भन्दै चर्चामा आए पछि झनै अन्यौलता छाएको हो। गुरुङको उमेद्वारी हो वा हैन भन्ने बारे केन्द्रिय पदाधिकारीहरुले नै सुईको नपाए पछि चुनावी समिकरण हाल सम्म बन्न सकेको छैन।

यदी गुरुङ अध्यक्षको मैदानमा उत्रिए भट्ट र पन्त मिलेर चुनाब लड्ने केहि जानकारहरु बताउँछन्। अर्को पटक पन्तलाई अध्यक्ष बनाउने र अहिले भट्टलाई समर्थन गर्ने भद्र सहमति सहित चुनाबी माहोल बन्ने हो कि भन्ने कतिपयको धारणा छ। तर भट्ट र पन्तको तयारी देख्दा यस्तो सम्भावना निकै कम देखिन्छ। त्यसो त एक साता अघि देखि गुरुङले पनि अध्यक्षमा उमेद्वारी दिने चर्चाले ठुलै बहस पाए पनि अधिकांश पदाधिकारीहरु त्यस्तो सम्भावना निकै कम रहेको बताउँछन्। घले पत्नी महिला उपाध्यक्षमा आउँने सम्भाबना बलियो रहेको भन्दै पदाधिकारीहरु स्विकार गर्छन्।

तेस्रो :-

एनआरएनको ग्लोबल सम्मेलन आउँन अब एक महिना मात्र बाँकी छ। शुक्रबार देखि सबै राष्ट्रिय समन्वय परिषदहरुले अधिबेशन सम्पन्न गरीसक्ने छन्। राष्ट्रिय समन्वय परिषदका अधिबेशनहरु ढिलो गरी सम्पन्न भएकाले पनि केन्द्रिय अधिबेशनको माहोल तात्न पाएन।

एनआरएन युएसएको बिबाद तथा भिजन २०-२० बारेको केन्द्रिय बहसले पनि यसपटक चुनाबी माहोल छायाँमा परेको देखियो। जर्मनीमा सम्पन्न दशौ युरोपेली बैठकमा पनि सहभागीहरु बिच आगामी नेतृत्व बारे भन्दा एनआरएन बिबादलाई लिएर दुई भागमा बिभाजन भएको प्रष्ट देखियो। युरोप बाहिरबाट पनि एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति देखिए पनि एनआरएन युएसएको बिबादले नै प्राथमिकता पायो।

त्यसो त पछिल्लो समयमा मुलुकमा गएको बाढीपहिरोका कारणले एनआरएन नेतृत्व राहत बितरणमा केन्द्रित रह्यो। यस्तो बेलामा चुनाबी माहोल बनाउनु पनि बेमौसी बाजा जस्तो देखिने हुँदा एनआरएन नेताहरुले मौन बस्नु नै उत्तम सम्झिए।

उमेद्वारी घोषणा गर्न दोधारमा:-

एनआरएन केन्द्रिय तहका नेताहरु यही पदमा नै उमेद्वारी घोषणा गर्छु भन्नेमा आँफैमा ढुक्क देखिदैनन्। चुनाबी समिकरण अनुसार भोलि हेरफेर हुने डरमा दोधारे अबस्था देखिएको छ। एउटै क्षेत्रबाट एउटै पदमा धेरैको आकाक्षा देखिनुले पनि दोधारे पन देखिएको हो।

उपाध्यक्षमा उमेद्वारी घोषणा गर्न चाहेकाले महासचिवमा,महासचिवमा ईच्छुकले सचिवमा वा आँफूलाई सुहाउँदो जुनै पदमा पनि समुहका लागि त्याग गर्नु पर्ने अबस्था देखिएको हुँदा पर्ख र हेरको रणनीतिमा छन्। घोषणा गरे पछि हट्न नपरोस् भनेर पनि अहिले छलफलमा नै ब्यस्त देखिन्छन्। त्यसो त भट्ट र पन्तलाई समुह बनाउँन पनि कठिन छ। एउटै क्षेत्रबाट धेरै पदका उमेद्वार खडा गर्दा,अन्य क्षेत्रहरुवाट भोट नआउला भन्ने डर,आफ्नो क्षेत्रका साथिभाई छोड्दा घात होला कि भन्ने डर।

यस्तै राजनीतिक भातृ संगठनहरु जनसम्पर्क समिति,प्रबासी नेपाली मञ्च,जनप्रगतीशिल मञ्च,जातीय तथा क्षेत्रीय संगठनहरुको प्रभाव आफ्नो पोल्टामा ल्याउनु अर्को चुनौती छ।

अब आउँने साताले तताउछ माहोल:-

एक हप्ता भित्र नै एनआरएनको माहोल उम्लने गरी तात्ने निश्चित छ।अध्यक्षका प्रत्यासी भट्टले शनिबार काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा नै उमेद्वारी घोषणा गर्दै छन्। यस्तै अर्का प्रत्यासी पन्तले घोषणा कार्यक्रमको तयारी गरिरहेको बुझिएको छ। यसै साता अध्यक्ष शेष घले पत्नी गुरुङले उमेद्वारी दिने नदिने बारे टुङ्गो लगाउने बताईन्छ। अध्यक्षको उमेद्वारी घोषणा सँगै चुनाबी माहोल तात्ने देखिन्छ।

सधै झैँ यसपटक पनि संस्थापक अध्यक्ष डा, उपेन्द्र महतो,पुर्ब अध्यक्ष जीवा लामिछानेको प्रभाव देखिन्छ नै। त्यसै गरी दुई कार्याकाल अध्यक्षको जिम्मेबारी निर्बाह गरेका अध्यक्ष शेष घलेको प्रभाव एनआरएनमा कस्तो छ त ? त्यो पनि चुनाबी नजिता नै बताउने छ।  अध्यक्ष घले चुनाबी मैदानमा कसैको खुलेर समर्थन वा बिरोधमा उत्रने सम्भावना कम रहे पनि आन्तरिक रुपमा उनको प्रभाव भने प्रष्ट रुपमा देखिने छ।

(ग्लोबल सम्मेलन बिशेष भाग -२ मा, युरोप क्षेत्रबाट कुन-कुन पदमा कस-कसको आकांक्षा छ,प्रस्तुत गर्ने छौ।)