जिल्ला प्रशासन कार्यालय कास्कीमा विचौलियालाई प्रवेश निषेध


पोखरा –  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि विचौलियालाई कार्यालय प्रवेशमा प्रतिवन्ध लगाएको छ । शुक्रबार कार्यालय परिसरवाट ५ जना विचौलियाहरुलाई पक्राउ गरि कागज गरि छाडिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

कुनैपनि सेवाग्राहीहरुको कागजपत्र लिएर कार्यालय हाताभित्र त्यस्ता विचौलिया हिडेको भेटिए कडा कारवाही गरिने उनले बताए । सेवाग्राहीहरुको सजिलोका लागि अबदेखि जिल्ला प्रशासन कार्यालय कास्कीले स्थानीय तह तथा अन्य निकायबाट सिफारिस भई आएको काममा निवेदन समेत लेख्न नपर्ने सजिलो व्यवस्था गरिएको छ ।

सेवाग्राहीहरुलाई सहज र सरल सेवा दिन निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएछौ तर विचौलिया र लेखापढि व्यवसायीहरुले निवेदन लेख्न भन्दै नागरिकलाई दुख दिएको कारण उनीहरुलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । कार्यालयले दिने सम्पूर्ण सेवा प्रक्रियाका बारेमा जानकारी दिन तथा पारदर्शी र उत्तरदायी प्रशासन बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीको आफ्नै मोवाईल एप्स समेत बनाएको छ ।

मोवाईल एप्समा कार्यालयबाट प्रदान गरिने सेवा, आवश्यक कागजपत्र, लगायतका महत्वपूर्ण सूचनाहरु राखिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीले अब छिट्टै कार्यालय भित्रै वैंङक राख्ने र सम्पुर्ण आर्थिक कारोवार बैंक मार्फत गर्ने तयारी थालेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आफ्नो कामसंग सम्वन्धीत कुनैपनि कागजपत्रहरु असम्वन्धीत व्यक्तीलाई नदिन पनि आग्रह गरेको छ । कार्यालयले सहायता कक्ष व्यवस्थित गरी ज्येष्ठ नागरिक, अपाङग, अशक्त र विपन्नहरुको काम छिटोछरितो गर्न आवश्यक व्यवस्था समेत मिलाईएको कार्यालयका गुनासो अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । कास्कीमा जिल्ला प्रशासन कार्यालय कास्की र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल, सुनास कास्कीको सहकार्यमा अन्य कार्यालयहरुमा पनि विचौलिया रोक्नका लागि कार्य थालिने भएको छ ।