सहारा क्लब पोखराको अध्यक्षमा केशब बहादुर थापा चयन


पोखरा –  सहारा क्लब पोखराको अध्यक्षमा केशब बहादुर थापा चयन भएका छन् । शुक्रवार पोखरामा सम्पन्न १९ औं साधारणसभा तथा १० औं अधिबेशन मार्फत थापा आगामी ३ बर्षे कार्यकालको लागि निर्विरोध चयन भएका हुन् । उनी यसअघि क्लबको बरिष्ठ उपाध्यक्ष थिए ।

अधिवेशनबाट क्लबको वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ , उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा विश्वराज बराल, सचिव राम्जी अधिकारी , कोषाध्यक्षमा राजु लालचन र सह कोषाध्यक्ष लिल बहादुर थापा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सदस्य विनु राना मगर, रोजिना गुरुङ, ज्योती के. सि., गङ्गा राज पौडेल, तिलक क्षेत्री, सन्दिप सुवदी चयन भएका छन् ।

 यसगरी पत्रकार सुरज श्रेष्ठ सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७३ बाट रेडियो तथा टेलिभिजनकर्मी श्रेष्ठ पुरस्कृत भएका हुन् ।

क्लवको १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेसनको अवसर शुक्रवार श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता पुरस्कार सहारा क्लब पोखराले विगत ११ बर्ष देखि निरन्तर प्रदान गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, सल्लाहकार प्रकाश शेरचन, क्लवका अध्यक्ष विरभद्र आचार्यले नगद १५ हजार ५ सय ५५ रुपैया सहित ताम्रपत्र ,दोसल्ला, फुल माला तथा खादा लगायर श्रेष्ठलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत श्रेष्ठले पुरस्कार बापत प्राप्त गरेको रकममा ४ हजार ४ सय ४५ रुपैया थप गरी २० हजार सहारा एकेडेमीको लागि आर्थिक सहयोग गर्ने उद्घोष गरेका छन् । कार्यक्रममा बोल्दै श्रेष्ठले पुरस्कारले आफुलाई अझ बढी खेल पत्रकारितामा जिम्मेवार बनाउन प्रेरण प्रदान गरेको बताए ।

तनहुँको डुम्रे घर भई हाल पोखरा सितलादेवि बस्दै आएका श्रेष्ठ हाल पोखरा एफ एम र पोखरा टेलिभिजनमा आवद्ध छन् । उनी डेढ दशक देखि पत्रकारीतामा सक्रिय छन् । अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसका आधारमा उनलाई पुरस्कार प्रदान गरिएको हो ।

२०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट हालसम्म कुलचन्द्र न्यौपाने, २०६४ धन बस्नेत, २०६५ विनोद लामिछाने, २०६६ प्रेम नारायण न्यौपाने, २०६७ राम गुरुङ्ग, २०६८ दीननाथ बराल, २०६९ प्रदिप पौडेल, २०७० एकराज गिरी, २०७१ सागरराज तिमिल्सिना, २०७२ मा कृष्णमणि बराल र २०७३ मा एम बि आस्था मगर यस पुरस्कारबाट पुरस्कृत भई सकेका छन ।