नेपाल एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश


काठमाडौं – नेपाल एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश  गरेको हो ।

आज शनिबार भएको सेमिफाइनलमा घरेलु टोलीले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेट क्षतिमा भेट्टायो । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरद्धय सन्दिप सुनार र आसिफ शेख दुबैले अर्धशतक पुरा गरे ।

सन्दिप ५७ रनमा अविजित रहे भने आसिफ ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका नलिन डि सिल्भाले ३९ रन बनाए भने भिरनसिप सिंहले २५ रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २९ रन खर्चिएका थिए ।

पवन सरार्फले २ विकेट लिए भने रोहितकुमार पौडेल, साहब आलम र सन्दिप लामिछानेले १-१ विकेट लिए ।