भवन भट्टको एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा


काठमाण्डौ – एनआरएनए अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत रहेका भट्टले काठमाण्डौमा शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । भट्टले अध्यक्ष पदमा यसपटक कसैसँग सम्झौता नगर्ने बताए । ‘संस्थाबाट अनुभव हासिल गर्नकै लागि विगतमा आफूले विभिन्न पदमा सम्झौता गरेको भए पनि यसपटक अध्यक्ष पदमा उम्मेदवार बन्न कसैसँग सम्झौता गर्दिन’ उनले भने।

भट्टले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले एनआरएन भवन निर्माणलाई पनि प्राथमिकता दिने बताए ।भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड वर्तमान अध्यक्ष शेष घलेले अघि सारेको एनआरएनको भावी कार्यदिशा हो । जसमा सन् २०२० सम्म एनआरएनले के-के गर्ने भन्ने नीति तथा कार्यक्रम उल्लेख छन् ।

उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् । उम्मेदवारी घोषणा गर्दै भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने बताए । त्यसपछि दोलखामा अर्को वस्ती निमार्णका लागि गहृकार्य गर्ने उनको प्रतिवद्धता छ । भट्टले एनआरएनलाई अघि बढाउन भिजन ट्वान्टी-ट्वान्टीलाई स्वभाविक रुपमा ग्रहण गर्न लागिएको बताए । साथै एनआरएनएमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने उनको नयाँ एजेण्डा छ ।  विस्तृत एजेन्डा छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।