सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलको सम्पूर्ण तयारी पुरा


पोखरा – छैटौं संस्करणको सिटी रेबान महोत्सव तथा फुड फेस्टिभलको सम्पूर्ण तयारी पुरा भएको छ । असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने महोत्सव तथा फुड फेस्टिभलको तयारीबारे शनिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो । महोत्सवको उद्घाटन कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले गर्ने उक्त अवसरमा जानकारी दिइएको छ ।

महोत्सवमा लोक दोहोरी तर्फ प्रजापती पराजुली, पुरुषोत्तम न्योपाने, कोमल वली, बद्री पंगेनी र सुगम संगीत तर्फ हेमन्त शर्मा लगायतका कलाकारको प्रस्तुती रहने सिटी रेबानका महासचिव जीवन दाहालले जानकारी दिए । पोखराका स्थानीय ब्याण्डको लाइभ प्रस्तुती सँगै विभिन्न हास्य कलाकारको प्रस्तुती रहने दाहालले सुनाए ।
‘राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको दैनिक प्रस्तुति, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेर समूहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दसैंको अवसरमा च्यांग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको आकर्षणका रुपमा रहनेछन्’ उनले भने ।

महोत्सवमा व्यावसायिक प्रयोजनका ९५, रेस्टुरेन्टका १०, सामाजिक संघसंस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २० गरी १ सय २५ स्टल रहने छन् । पहिलोपटक महोत्सवमा भाले छोप्ने र ढिँडो खाने प्रतियोगिता समावेश गरिएको छ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा ४१ लाख ९५ हजार रुपैयाँ खर्च र ४८ लाख ४० हजार रुपैयाँ आम्दानी गर्ने अनुमान छ । बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रवद्र्धनका लागि, ५ प्रतिशत दैवी प्रकोपका लागि र ५ प्रतिशत असहाय बालबालिकाका लागि खर्चिने आयोजकले जनाएका छन् ।
महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको छ ।

महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, वृद्धवृद्धा, बालबालिकाका लागि परिचयपत्रको आधारमा छुटसहित ४५ रुपैयाँ कायम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यवाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन महासचिव जीवन दाहालले गरेका थिए ।