नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन


काठमाण्डौ – हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ मलेसियाको किन्नारा ओभलमा टस जितेको नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित ५० ओभरको खेलमा हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो। हङकङको ७७ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै प्रनित थापा मगरले अन्तिममा लगातार २ छक्कासहित १९ रनमा अभिजित रहे। सन्दिप सुनारले समान १९ रन बनाए। अनिलकुमार साह १६ रनमा आउट भए।

यसअघि हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र  सोहेब आलमले ३-३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १-१ विकेट लिए। मित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्स्म्यानलाई रनआउट गरे।

मलेसियालाई १० विकेटले हराएर  नेपाल फाइनलमा पुगेको थियो। एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। ६ मध्ये नेपालले चार पटक उपाधि जितेको थियो भने २ पटक उपविजेतामै सीमित बनेको थियो। यो जीतसँगै नेपालको एसिसी यु १९मा पाँचौ जीत हो।