पोखरामा दशै मनाउने तयारी


राजाराम पौडेल,पोखरा –  नेपालीहरुको महान्पर्व विजयादशमी नजिकिदै गरेको छ । विस्तारै दशैको चहलपहल शुरु हुदैछ । दशैको लागि किनमेलगर्ने क्रम देखि दशैमा के गर्ने भनेर योजना बनाउन थालिसकिएको छ । कोहि घुमघाम गर्दै दशै मनाउने तयारीमा छन् । कोही साथीभाइ इष्टमित्र भेटेर । त को विभिन्न परिकार सँगै किनमेल गरेर । पोखराका मुख्य–मुख्य बजारमा ग्राहकको भिड विस्तारै बढ्दै गएको छ । विभिन्न अफर, स्किम, छुट, पुरस्कार मार्फत ग्राहकलाई आर्कषित गर्न व्यवसायी लागिपरेका छन् ।

 दशैलाई नै लक्षित गरेर पोखराको प्रदर्शनी केन्द्रमा असोज २ गते सोमबार देखि ११ गते बुधबारसम्म छैटौँ सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल आयोजना गरिदै छ । बडादशैँलाई मध्यनजर गरी पोखरा–लेखनाथ नगर होटल रेष्टुराँ तथा बार एशोसिएशन (सिटी रेवान) ले आयोजना गर्न लागेको महोत्सव तथा फुड फेष्टिबलमा उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु, खसी, बोका र च्यांग्राको बिक्री वितरण हुनेछ । त्यस्तै, राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत, गृहिणी एकल नृत्य, रत्यौली गीत, ढिडो खाने र भाले छोप्ने प्रतियोगिता हुने आयोजक संस्थाका महासचिव  जीवन दाहाल बताए । महोत्सवमा दशैलाई लक्षित गरी १ सय २५ वटा स्टल राखिनेछ ।

यसैगरी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ बगरमा रहेको इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा दशै फुलपाती महोत्सव हुने भएको छ । असोज ७ गतेदेखी १२ सम्म उक्त महोत्सव पोखराको पुरानो टुडिखेलमा संचालन हुनेछ । ६ दिन चल्ने महोत्सवमा हिमाल पारीका भेडा, च्याङग्रा देखि दैनिक उपभोग्य बस्तुहरुको बिक्रि वितरण हुने महोत्सवका सह–संयोजक हिट्लर घलेले बताए महोत्सवमा वडा दशैं पर्वमा प्रयोग हुने दैनिक उपभोग्य बस्तु देखि हस्तकलाको सामाग्रिहरुको समेत विक्रि वितरण हुनेछ । यस पटक पोखरामा करिब १५ हजार भेडा च्याङग्रा भित्रिने र महोत्सव स्थलमा करिब २० वटा खोर भेडा च्याङग्राको हुने घलेले जनाए । यस बर्ष भेडा च्याङग्राको मुल्य समेत केहि बृद्धि हुने उनले जनाए । उनका अनुसार २५ हजार देखि माथि ३० हजारसम्म प्रति भेडा, च्याङग्राको मुल्य पर्ने छ ।  महोत्सवमा भेडा, च्याङ्ग्राको स्टलबाहेक अन्य ३० वटा स्टल रहनेछ ।  महोत्सवमा बाल उद्यान सहित विभिन्न सांस्कृतिक कार्यक्रम एवं मनोरन्जनका कार्यक्रम हुनेछ । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकारहरु पशुपति शर्मा, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योति मगर, प्रिती आले लगायतको प्रस्तुती रहने आयोजकले बताए ।

पोखराको प्रमुख धार्मिक तिर्थस्थल विन्ध्यवासिनी मन्दिरमा विन्ध्यवासिनी धार्मीक क्षेत्र विकास समितिले नवदुर्गा महोत्सवको आयोजना गर्नेछ । विन्ध्यवासिनी मन्दिरमा हुने यो महोत्सवमा वर्षेनी भक्त्तजनको संख्यामा वृद्धि हुदै गएको विन्ध्यवासिनी धार्मीक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले बताए ।

यसका अलावा पोखराको भद्रकाली मन्दिर, ताल बाराहि मन्दिर, अकला मन्दिर, नारायण स्थान, पोखरा २८ कालिकामा रहेको कोट भैरव मन्दिर, कालिका मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर, जाल्पादेवी मन्दिर लगायतका ठाउँमा दर्शनार्थी पुग्ने गर्दछन् । ताल बाराहि मन्दिरमा कोजागत पुर्णीमाको दिनमा मेला लाग्छ । पोखरा अनि यसआसपासमा विभिन्न संघ–संस्थाले कार्यक्रमको आयोजना गरी दशैलाई भव्य मनाउने तयारी गरेका छन् ।