ग्लोबल सम्मेलन बिशेष:-एनआरएन भित्र बर्चश्वको लडाई


टिप्पणी 

गैर आबासीय नेपाली संघको आठौ बिश्व सम्मेलनको चुनाबी समिकरण रोचक बन्दै गएको छ। महिनौ अघि देखि अध्यक्षको दाबी गर्दै आएका उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त बीचको भित्रि सहमतिको चर्चाले चुनाबी बाताबरण झनै रोचक बन्दै गएको हो।

भट्टले अध्यक्षका लागि उमेद्वारी घोषणा गरिसकेका छन् ,सहमतिलाई आधार मान्ने हो भने पन्त अब उपाध्यक्षमा चुनाव लड्ने छन्।यो सँगै भट्ट अध्यक्ष बन्ने लगभग पक्का भएको छ ,यद्दपी अन्य उमेद्वारले नेतृत्वका लागि दाबी गर्न सक्ने सम्भावनालाई भने नकार्न सकिदैन।

बर्तमान अध्यक्ष शेष घले पत्नी जमुना गुरुङ घलेको नाम पनि हप्ता दिन जति बहस र चर्चाको बिषय बन्यो। स्रोतलाई आधार मान्य हो भने उनको अध्यक्षमा उमेद्वारी दिने कुनै ईच्छा वा तयारी नै छैन। भट्ट र पन्त बीचको सहमति पछि पनि गुरुङको उमेद्वारी आउँछ कि भन्ने डर भट्टलाई लागेको हुँदा यस्तो चर्चामा ल्याईएको बताईन्छ।

एनआरएनमा बर्चश्वको लडाई

महिनौ अघि अध्यक्षको दौडमा लागेका दुई उपाध्यक्ष मिल्नुलाई स्वभाबिक रुपमा पनि लिन सकिन्छ। तर दुईलाई एक बनाउनुको पछाडी सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र प्रमुख संरक्षक जीवा लामिछानेको हात रहेको बताईन्छ। पछिल्लो दुई कार्यकाल घलेले एनआरएनको नेतृत्व सम्हाली रहँदा एनआरएन नै घले मय भएको देखिन्छ।

भूकम्प पछिको राहत बितरण,लाप्रक नमुना बस्ती निर्माण,एनआरएन भवन निर्माण लगायतका कामले एनआरएनमा घलेको बर्चश्व बढ्दै गएको छ। भट्ट र पन्त सहमति गर्दा अबको चार बर्ष दुईले नेतृत्व सम्हाल्दा उपयुक्त देखेर महतो र लामिछानेले सहमति गराएको चर्चा छ। तर कतिपयले यसलाई घलेको बर्चश्व घटाउने रणनीतिको रुपमा पनि बिश्लेषण गरेका छन्।

भट्ट र पन्त चुनाबी मैदानमा हुँदा घलेको समर्थन निर्णायक हुने देखिए पछि यसो गरिएको कतिपयको बुझाई छ। त्यति मात्र हैन कतिपयले भट्ट र पन्त मध्ये एकको हार हुँदा आगामी नेतृत्वहरु घले समर्थकहरु नै आउँने डरमा पनि सहमति भएको विश्लेषण गरेका छन्। तर केहिले दुई सक्षम एनआरएन नेताले पालै पालो नेतृत्व लिने बाताबरण बनाउनु सकारात्मक रुपमा लिएका छन्।  

अर्को तर्फ भिजन २०२० एण्ड बियोण्डको बिबाद पनि मुख्य बिषय बनेको छ। घलेले हालै एक कार्यक्रममा बोलेका छन्,‘यदि हामीले अबको १० वा २० वर्षमा संस्था कस्तो बनाउने भन्ने योजना बनाउन सकेनौं, त्यही अनुसारको सिस्टम बनाउन सकेनौं भने संस्था केही सिमित ब्यक्तिको वरिपरि घुमिरहने छ भने आम गैरआवासीय नेपालीहरु निश्चित ब्यक्तिको इसारामा चल्नुपर्ने बिडम्बनापूर्ण स्थिति आउने छ ।”

एउटा प्राईभेट कम्पनीले तयार गरेको संरचनालाई ब्यापक रुपमा छलफल नै नभएको,प्रत्येक सदस्यले हेर्न नपाएको भन्दै पुर्ब अध्यक्ष लामिछानेले दशौ युरोपेली बैठकमा फरक बिचार ब्यक्त गरेका थिए। संस्थापक अध्यक्ष डा.महतोको पनि यस बिषयमा असन्तुष्टि देखिएको थियो।

कतिपयले भिजन २०२० ले “सामुहिक नेतृत्वको अबधारणालाई कमजोर बनाउने र अध्यक्षको शक्ति बृदि गर्ने चिन्ता ब्यक्त गरेका छन्। संघलाई बिकेन्द्रिकरण भन्दा केन्द्रिकरण गर्ने आशंका ब्यक्त गर्दै,एनआरएन मास बेस सँस्था भएकोले युएन अथवा डब्लुएजओको रुपमा चल्न नसक्ने बताउँदै आएका छन्।

युरोपबाट उमेद्वारी:-

यदी पन्तले उपाध्यक्षमा उमेद्वारी दिएमा युरोप क्षेत्रबाट उपाध्यक्षका आकांक्षीहरु बढी देखिन्छन्। यसो हुँनाले बर्तमान महासचिव डा.बद्री केसी पुन: महासचिवमा नै उमेद्वारी दिने बताईन्छ। तर युरोपबाट नै महासचिवका अर्का आकाक्षी अर्जुन कुमार श्रेष्ठ चुनाव लड्ने तयारीमा देखिन्छन्।

यस्तै उपाध्यक्षका अर्का उमेद्वार कुल आचार्य पनि बलिया प्रतिस्पर्धी हुन्। युरोप बाहेक अन्य क्षेत्रहरुलाई पनि समेटर चुनाबी समिकरण बनाउँन कठिन देखिएको छ। युरोपबाट महिला उपाध्यक्षमा सपिला राज भण्डारी तथा महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा लोकराज शर्माको उमेद्वारी दिने लगभग पक्का जस्तै देखिएको छ।