पोखरामा नक्कली सुन बेचविखनमा संलग्न गिरोह पक्राउ


पोखरा – पोखरामा नक्कली सुन बेचविखनमा संलग्न गिरोह पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले भदौ ३० गते  तनहुँ म्याग्दे गाउँपालिका २ बस्ने बर्ष ३९ का रबिराज खनाल र बाग्लुङ बुर्तिबाङ २ घर भई हाल ढोरपाटन नगरपालिका २ सलाङकोट बस्ने बर्ष ५० का छम बहादुर खत्री के.सी.लाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातु १ किलो ५०० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका ब्यक्तिको वयानका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार खनाल र प्रहरीले खटाएको सुराकी विचमा नक्कली सुन पोखरा ल्याएर बेचविखन गर्ने सल्लाह भयो ।

१६ लाख रुपैयामा नक्कली सुन विक्री गर्ने योजना पनि तयार भयो । त्यसअघि बाग्लुङका केसीले नुवाकोटको पिपलडाडा ७ बस्ने ६५ बर्षीय राम बहादुर लिम्बुसँग नुवाकोटमा भेटघाट गरी नक्कली सुन बिक्रि भएपछि आफुलाई ३ लाख रुपैया दिने सर्तमा खनाललाई पोखरामा सामान दिन आउदै थिए ।

तर के.सी. खनाललाई भेटेर पोखरा आउने क्रममा भदौ ३० गते पोखरा लेखनाथ महानगरपालिका बडा नं ३२ राधाकृष्णटोलबाट पक्राउ परे । यसअघि सुनजस्तो देखिने पहेलो धातुलाई सुनको मुर्ती भनी विक्री गर्ने ब्यक्ति बिरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । भदौ १९ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ बुढीबजारकी सरस्वती गुरुङले ठगी मुद्वामा दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा उनीहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

लमजुङ साविक खुदी गा.वि. स. हाल मर्स्याङदी गाउपालिका वडा नं. ३ घर भएका २९ बर्षीय राजु तामाङ र सुन्दर बजार नगरपालिका ८ बलथुम बस्ने वर्ष ५४ का प्रेम बहादुर परियार दमैले गुरुङलाई सुन जस्तो देखीने पहेलो धातुको मूर्तिलाई सुनको मुर्ति भन्दै ६ लाख ६५ हजारमा विक्री गरेका थिए ।

गुरुङले दिएको जाहेरीका आधारमा तामाङ र दमैलाई पक्राउ गरी अनुसन्धान गर्दा केसी र खनालको पनि संलग्नता पुष्टी भएको थियो । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।