विजयादशमीको अवसरमा विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने


पोखरा –  विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विजयादशमीको पावन अवसरमा विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । घटस्थापनाको दिनदेखी नवमीसम्म विन्ध्यवासिनी नवदुर्गा महोत्सव आयोजना गर्न तयारी सुरु गरिएको छ ।

मन्दिर परिसरमा संगितमय झाँकी सहितको श्रीमद्भागवत ज्ञान महायज्ञ संचालन हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । महोत्सवको क्रममा घटस्थापनाको दिन असोज ५ गते विन्ध्यवासिनी नवदुर्गा शोभा यात्रा हुदैछ । शोभा यात्रामा नवदुर्गाका नौ रथ सहितको झाँकी, विन्ध्यवासिनी मन्दिरको झाँकी, लगायत विभिन्न संघ संस्थाहरुले सहभागिता जनाउने समितिका अध्यक्ष गणेशवहादुर श्रेष्ठले जानकारी दिए ।

शोभा यात्रा विन्ध्यवासिनी पार्कवाट विहान ७ ः ३० बजे प्रारम्भ भई मोहोरियाटोल, भैरवटोल,भिमसेनटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुँगा, सिद्धार्थचोक, गणेशटोल हुँदै विन्ध्यवासिनी आएर समापन हुने कार्यक्रम रहेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । शोभा यात्रामा कानून न्याय तथा संसदिय व्यवस्था मन्त्री यज्ञवहादुर थापा प्रमुख अतिथि रहने छन् ।