ओली फर्केपछि सभासद् मनोनयन हुने – उपप्रधानमन्त्री गौतम


विराटनगर,  साउन १२

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले संविधानसभाका २६ सभासद्को मनोनयन नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्के लगत्तै हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब एक हप्ताभित्रमा २६ सभासद्को मनोनयन कार्य पूर्ण हुने जानकारी दिए ।

पार्टी उपाध्यक्षसमेत रहेका गृहमन्त्री गौतमले विधिको शासनबाट सरकार सञ्चालन भइरहेको दावी गर्दै काँग्रेससँग भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
सरकार गठन हुनुपूर्व एमाले र काँग्रेसबीच भएकोे सहमति कार्यान्वयनप्रति काँग्रेस गम्भीर रहेको उल्लेख गर्दै उनले नयाँ संविधान जारी हुनु अगावै राष्ट्रपति तथा उपराष्ट्रपति अनुमोदन हुने विश्वास व्यक्त गरे ।

गौतमले अदालती प्रक्रियाको कारण अतिरिक्त प्रहरी नायब महानिरीक्षक (एआइजी) को बढुवा रोकिएकाले अब प्रहरी नियमावलीअनुसार चाँडै नै यस सम्बन्धमा टुङ्गो लाग्ने बताएका छन् ।
पूर्वाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन उपप्रधानमन्त्री गौतम सोमबार बिहान विराटनगर आएका हुन् ।