टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि पोखरा क्रिकेट एकेडेमी एलाई


पोखरा – पोखरा क्रिकेट एकेडेमी एले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ६ विकेटले पराजित गर्दै लक्ष्मी लाईटहाउस टी–ट्वान्टी टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको अमरसिंह चौरमा मंगलबार भएको फाईनल खेलमा बाग्लुङले दिएको ११२ रनको चुनौतिलाई आयोजक पोखरा क्रिकेट एकेडेमीले ४ विकेट गुमाउँदै पुरा गर्ने क्रममा म्यान अफ दि म्याच रिजन प्रजुले ३८ रनको महत्वपूर्ण इनिङ खेले ।

टस जितेर व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लबले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १११रनको योगफल तयार पारेको थियो । रुपेश सिंहले २० बलमा ३४ रनको महत्वपूर्ण योगदान दिए । अनिष जिसीले पनि २६ बलमा २९ रन बनाइ पवेलियन फर्किए । रिजन प्रजुले ३ ओभरमा २ विकेट लिए। आलम खानले ४ ओभरमा २ विकेट लिए । कप्तान चन्द्रकुमार गुरुङ, प्रदीप राउत र विनित श्रेष्ठले ४ ओभर बलिङ गर्दै केवल १–१ विकेट लिए ।

११२ रनको लक्ष्य पछ्याएको आयोजक पोखरा क्रिकेट एकेडेमीको तर्फबाट रिजन प्रजुको उत्कृष्ठ व्याटिङसँगै अरुण अधिकारीले २३ रन, विधान श्रेष्ठले ८ बलमा १६ रन र सुदिप पौडेलले १७ रन(नटआउट) हिर्काए । सन्तोष श्रेष्ठले २.५ ओभर बलिङ गर्दै २ विकेट दिए । विजय विक र रुपेश सिंहले ४ ओभर बलिङ गरेर समान १–१ विकेट लिए ।

प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो । बेष्ट बलरबाट युनाईटेड क्लबका सन्जय राना(१० विकेट), बेष्ट व्याट्सम्यान धौलागिरीका रुपेश सिंह घोषित भए । म्यान अफ दि सिरिजबाट आयोजक पोखरा क्रिकेट एकेडेमीका विधान श्रेष्ठ र इर्मजिङ क्लबको रुपमा शान्ति टोल क्रिकेट क्लबले पुरस्कार पाए । प्रतियोगितामा विजेता क्लबले नगद ६० हजार तथा उपविजेता धौलागिरी क्रिकेट क्लबले ४० हजार नगद पुरस्कार स्वरुप पायो । विजेता क्लबका खेलाडीहरुलाई विभिन्न व्यक्तित्वले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।