एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा


बार्सिलोना/ गैर आबासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा डेनमार्कबाट सोम सापकोटाले सह कोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। यस अघि युरोप क्षेत्रीय उप-संयोजक पदमा रही एनआरएन अभियान सक्रिय रुपमा लागेका सापकोटाले एक बिज्ञप्ति जारी गर्दै आफ्नो उमेद्वारी घोषणा गरेका हुन्। सापकोटा अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य हुन् भने २०१३-२०१५ को कार्यकालमा युरोप उपसंयोजकको रुपमा काम गरेका थिए।

सापकोटाले उमेद्वारी घोषणा सहित जारी गरेको बिज्ञप्तिमा लेखेका छन्,” गैरआवासीय नेपालीसंगको अभियानमा तपाईको सहयोगमा हाँसिल गरेको अनुभव र क्षमतालाई सधैं गैरआवसीय नेपालीको हितमा लगाउने प्रतिवद्धता सहित यहाँहरुकै सल्लाह तथा सुझाब पश्चात आगामी कार्यकाल (सन् २०१७ देखि २०१९ सम्म)का लागि सह-कोषाध्यक्षको जिम्मेवारीमा रहेर संघको वृहत्तर हितमा लागेर अगाडी बढ्ने निर्णय गरेको छु ।”

सन् २००४ देखि पोर्चुगलबाट संघको अभियानमा संग्लन रहेका सापकोटा बिगत १२ वर्ष देखि नै सक्रिय रुपमा लागेका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यकारी सदस्य हुँदै २००९ देखि ०११ सम्म गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद डेनमार्कको संस्थापक अध्यक्ष,२०११ देखि ०१३ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य बनेर काम गरे। यस्तै सापकोटाले सन् २०१३ देखि ०१५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोप क्षेत्रको उपसंयोजक को जिम्मेवारी साथै २०१५ देखि हालसम्म गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यका रुपमा अभियानमा सक्रिय छन्।

डेनमार्क स्थित नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि समेत रहेका उनले नेपालको पर्यटन बिकासका लागि युरोपमा बिभिन्न देशहरुमा सम्पन्न कार्यक्रममा महत्वपूर्ण भूमिका निर्बाह गरेका छन्। बिभिन्न अभियान मार्फत रकम संकलन गरेर नेपालका ग्रामिण भेगका बिद्यालयहरुमा ईलाइब्रेरी संचालनका लागि पनि उनको योगदान रहेको छ।

उमेद्वारी घोषणा पछि सापकोटाले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने,’बिभिन्न परोपकारी तथा सामाजिक कामका लागि प्रतिबद्दता भएका रकमहरु उठ्न सकेका छैनन्,आफुँ निर्बाचित भएमा पहिलो कदम नै प्रतिबद्दता भएको रकम संकलन गर्नु नै हो।” उनले जिम्मेबारी पुर्बक आर्थिक पारदर्शितामा पनि जोड दिने बताए।