कार्यकारी निर्देशकबाट बर्खास्त भएका खड्काद्धारा सर्वोच्चमा मुद्दा दायर


काठमाडौं– नेपाल आयाग निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि गोपालबहादुर खड्काले सरकारको निर्णयविरुद्ध बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।  मन्त्रिपरिषद्को बैठकले निगम कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गरेको थियो ।

नेपालको संविधानको धारा ४६ तथा १३३, (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायतका उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गर्नुपर्ने मागसहित खड्काले रिट दायर गरेका छन् । आफ्नो नियुक्तिको म्याद कायमै हुँदा हुँदै बर्खास्त गरेको भन्दै सर्वोच्च पुगेका हुन् ।  आफू विरामी भइ घरमा बसेका बेला आफूलाई हटाउने निर्णय मिडियाबाट आफूले सुनेको उनले बताएका छन् ।

आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै संसदीय समितिहरुले कारबाहीका लागि सिफारिस गर्नुका साथै विभिन्न क्षेत्रबाट कारबाहीका लागि दबाब बढेपछि खड्कालाई सरकारले बर्खास्त गरेको थियो ।

 सार्वजनिक खरिद ऐन नियम अनुसारको सम्पूर्ण प्रक्रिया पूरा गरी निगमको तेल भण्डारण गृहका लागि विभिन्न स्थानमा जग्गा खरिद गरिएको दावी गरेका छन् । जग्गा खरिद प्रकरणबारे  मिडियामा प्रकाशित समाचारलाई लिएर खड्काले यसअघि काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए ।