निर्वाचन आयोगद्धारा राजनीतिक दलहरुलाई भोजभतेर गर्न रोक


काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दलहरुलाई भोजभतेर गर्न रोक लगाएको छ । नेपालीहरुको महान चाड दशैंतिहार तथा छठ पर्वको अवसरमा दलहरु भोजभतेर गरेर मतदातालाई प्रभाव पार्न सक्ने भन्दै आयोगले यस्तो रोक लगाएको हो ।    आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुदैछ ।

आयोगले विजयादशमी, दीपावली तथा छठजस्ता हिन्दुहरूका महान् चाडहरूका अवसर पारेरपनि  राजनीतिक दलहरु तथा दलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेर नगर्न आग्रह गरेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउन सक्ने भन्दै आयोगले चाडबाडमा पनि भोजभतेर नगर्न भनेको हो ।

आयोगको उक्त निर्णयको जानकारी राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई दिने भएको छ ।