स्पेनका एकराज गिरीले युरोप सहसंयोजकमा उम्मेदवारी दिने घोषणा


बार्सिलोना / गैर आबासीय नेपाली संघ (एनआरएनए ) युरोप क्षेत्रीय सहसंयोजक पदमा स्पेनबाट एकराज गिरीले उम्मेदवारी घोषणा गरेका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आयोजना गरेको एक कार्यक्रम बीच गिरीले बुधबार उम्मेदवारी घोषणा गरेका हुन्।

एक दशक भन्दा लामो समय देखि स्पेनको नेपाली समुदायमा सामजिक रुपमा सक्रिय गिरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत हुन्। उनि सन् २०१३- २०१५ को कार्यकालमा राष्ट्रिय समन्वय परिषद स्पेनमा अध्यक्ष समेत बनेका थिए।

नेपाल पर्यटन बोर्डका स्पेन स्थित मानार्थ प्रतिनिधि समेत गिरीले गैर आबासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत बिभिन्न कार्यदलहरुमा रहेर जिम्मेबारी समेत निभाएका छन्। उनले विनाशकारी भूकम्प जाँदा स्पेनमा राहत संकलन कार्यको संयोजन गरेका थिए। करिव सवा करोड रुपैयाँ एनआरएन केन्द्रमा संकलन गरी पठाउँदा उनको नेतृत्वदायी भूमिका थियो।

बार्सिलोना स्थित संघको कार्यालयमा स्पेनबासी नेपाली समुदायलाई सम्बोधन गर्दै गिरीले भने,” मैले जिते सम्पूर्ण स्पेनबासी नेपाली समुदायको जीत हो,त्यसैले पनि यहाँहरु माँझबाट नै,कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नहुने गरी घोषणा गर्न चाहन्छु। एनआरएन स्पेन सक्षम हुँदा हुँदै पनि माथिल्लो तहसम्म नेतृत्व लिन सकेको छैन,अब तपाईहरुको साथ चाहिन्छ त्यो नेतृत्व लिन हामी सक्षम भई सकेका छौ।”

गिरीलाई एनआरएनए स्पेन,राजनीतिक दल निकट संगठन लगायत बिभिन्न संघसंस्थाहरुले आ-आफ्नो तवरबाट सहयोग गर्ने प्रतिबद्दता जनाएका छन्। घोषणासभा कार्यक्रममा संघका निर्बतमान अध्यक्ष तथा प्रस्तावित आईसीसी सदस्य मुक्त बहादुर गुरुङ,पुर्ब आईसीसी सदस्य दीपक खरेल लगायत संघ संस्थाका प्रतिनिधिहरुले समेत बोलेका थिए।

संघका अध्यक्ष चिन्तामणी सापकोटाले गिरीलाई सहयोग गरी जिताउँन सबैलाई आह्ववान गरेका छन्। अध्यक्ष सापकोटाले स्पेनबासी नेपालीहरुले दिल्लीमा भोग्नु परेका समस्याहरु बारे छलफलका लागि सम्बन्धित निकायमा पहल भईरहेको बताउँदै सबैले सकरात्मक सोचका साथ सहयोग गर्न समेत अनुरोध गरे।

सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव कृष्ण भुसालले गरेका थिए।