एनआरएनमा दोश्रो पुस्ताको आगमन र सक्रियता कहिले ?


-कृष्ण अधिकारी

गैर-आवासीय नेपालीहरु अर्थात आफ्नो अनेक बाध्यताका कारण मुलुक बाहिर रहेका नेपाली भन्ने गर्छु म (जसको संबिधानत:  र एनआरएनएको बिधानत: परिभाषा अर्कै छ, त्यसबारे म अर्को शृंखलामा प्रस्तुत गर्नेछु) एनआरएनहरुको परोपकार, सामाजिक सेवाभाब र निस्वार्थ दुखमा परेका नेपालीको लागि आबश्यक सहयोग तत्काल गर्ने, नेपालको श्रीबृद्दीमा सहयोग पुर्याउने माध्यम बन्ने, सम्भब भए नेपालमा लगानी गर्ने साधारण, तर अति ठुलो महत्वकांक्षा बोकेर यो संस्थाको जन्म भएको थियो ।

तर यो आन्दोलनमा आज करिब एक दशक पछि विचलनका बाछिटा देखिन थालेका छन ।  यदि यसका संस्थापक डा. उपेन्द्र महतोको कुरा लाई गम्भीर समिक्षा गर्ने हो भने अबको गैर-आवासीय नेपाली संघको गति लाइ सहि तरिकाले अघि बढाउने हो भने यो आन्दोलनमा जोडिन खोज्नेहरु लाइ फिल्टर गर्न जरुरि देखिन्छ।  

हामीले संस्थाको रिजनल मिटिंग, बन्द सत्रमा बियर र चुरोट खाएर रोमान्स गर्ने कार्यकर्ता खोजेको हैन, बौद्दिक छलफल गर्ने समस्या केलाउने र समस्याको निराकरण गरी मुलुक लाइ केहि दिन सकिन्छ दिने खालको संस्था र यसका सदस्य खोजेको हो । ” त्यसैले गैर-आवाशीय नेपाली संघ संस्थापक अध्यक्ष उपेन्द्र महतो देखि अहिलेका शेष घले सम्म आइपुग्दा यो आन्दोलनमा केहि विचलनहरु देखिन थालेका छन, मुख्य रुपमा गैर-आवाशीय नेपालीहरुको आन्दोलनमा अहिले देखापरेका केहि विचलनका दृष्टान्त प्रस्तुत गर्न चाहन्छु ।

कृष्ण अधिकारी

साथै यो लेख गैर –आवासीय नेपालीहरुको गतिशील आन्दोलन लाई बिरोध गर्नका लागि हैन कि नेतृत्व पंक्ति समस्याहरु चिनेर निराकरण गर्दै अगाडी बढियोस भन्ने अभिप्रायले लेखिएको हो ।

सङ्गठनमा राजनीतिको रङ्ग

गैर-आवासीय नेपाली संघको संसारभरको हालसम्मका ७५ एनसिसि मध्ये धेरै सदस्य संख्या भएका र बौद्दिक भनिएका देशका एनसिसिहरुमा नेपालका राजनीतिक पार्टीका कार्यकर्ताहरुको दबदबा हुन थालेको छ । जसले संगठन चुस्त बलियो हुनु भन्दा पनि बौद्दिक रुपमा क्षयीकरण र राजनतिक एजेन्डा हाबी हुदा एनआरएनएको उदेश्य र काम कर्तब्यबाटै बिमुख बनि गन्तब्य हिन बन्ने डरलाग्दो रुप देखिएको छ ।  उदाहरणको लागी अमेरिका, र जापानको एनसीसीको हालैको अधिबेसन लाई लिदा हुन्छ । हंगकंग र पोर्चुगलको खुकुरी काण्डलाई लिदा हुन्छ ।

अमेरिकाको एनसीसीमा अधिबेसन हुन नै करिब ६ महिना भन्दा बढी समय लागेको थियो भने राजनीतिक प्यानल बनेर निर्वाचन मार्फत अहिले नतिजा आइसकेको स्थिति छ | एनसिसि जापानमा त गैर-आवशिय नेपाली संघको बद्नाम हुने गरी राजनीतिक नेताहरुले नांगै नाच नाचेका छन ।  यति सम्मकि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष राजनीतिक भागबन्डाका आधारमा सर्बसम्मती गरेका थिए भन्ने स्रोत बताउछ ।  

केहि समय पहिले त गैर-आवासीय नेपाली संघको संसारभरको पचहत्तर ओटा एनसीसीमा नेपाली कांग्रेसका सेर बहादुर देउवाले त कांग्रेस माओबादी मिलेर अधिबेसन सक्नु भनेर परिपत्र नै गरेको गम्भीर खुलासा भएको थियो | यसरी पबित्र उदेश्य सहितको संस्थामा राजनीति घुसाएर संस्थाको औचित्य पुरा गर्न सायद अबको नेतृत्व लाई चुनौती देखिन्छ । र अर्को कुरा केन्द्रीय नेताहरुपनि राजनीतिको रंगबाट अछुतो रहन सकेका छैनन ।  बेला बेला बजारमा आउने हल्ला र गरिने क्रियाकलापले त्यसको पुष्टि पनि गरेको देखिन्छ ।

भोट बैंकका लागि ‘सदस्यता’ वितरण

गैर-आवाशिय नेपाली संघ सुन्नमा जति राम्रो छ, यसका काम हेर्ने हो भने उति नै बेखुसी हुने अबस्था पनि देखिएको छ। भलै यो लेख एनआरएनएको आन्दोलन सहि बाटोमा हिड्नु पर्छ भन्ने अभिप्रायले लेखिएको हो ।  एनआरएएनए अभियानमा जोड्नका लागि भन्दै बिभिन्न एनसीसीहरुले आफ्नो भोट बैंकको लागी प्रयोग गर्ने बदनियतका साथ नेताहरुले बिद्यार्थीले पनि भोट हाल्न पाउने नियम जब बनाए तब एनसीसीहरुमा बिचलन आउन थालेको मेरो निष्कर्ष हो ।

 केन्द्रीय उपाध्यक्ष भबन भट्टले लाएको नारा ‘मुलुकमा बिदेशका नेपालीको नोट चल्ने भोट नचल्ने” जस्तै बिदेशमा एनआरएनएनको चुनाबमा पनि बिद्यार्थीको “भोट चल्ने नेतृत्व नचल्ने” भन्ने स्वरहरु सुनिदै आएका छन।

त्यसैले बिद्यार्थीको भोट चलाउन थाले पछि यो संस्था फेसन जस्तो बनेको छ जुन पूर्णरुपमा गलत छ | तन-मन-धन र समय दिन सक्ने मान्छे मात्र यो संस्थामा लाग्ने हो बिदेशमा पढ्न आएको बिद्यार्थी पढ्न तिर ध्यान दिने हो राजनीति गर्न हैन, त्यसैले यो पनि एउटा बिचलन नै हो ।

दोश्रो पुस्ताको आगमन र सक्रियता कहिले ?

गैर-आवासिय नेपाली संघका केन्द्रीय नेताहरुले आफ्नो अभियानमा दोश्रो पुस्तालाई समेट्न पूर्णत असफल भएका छन ।  गत बर्ष अमेरिकामा भएको रिजनल मिटिंग मार्फत आन्दोलनमा दोश्रो पुस्ता लाई समाबेश गरी अघि बढ्ने भनि नीतिमा समाबेश गरे पनि सहिरुपमा दोश्रो पुस्ताका युबाहरु यो आन्दोलनमा समाहित हुन सकेका छैनन ।

यति सम्मकी  बरु यो आन्दोलन लाई बाहिर बाट हेर्ने तर समाबेश नहुने बौद्दिक ब्यक्तिको संख्या भने बढ्दो छ।  बिशेष गरी गैर-आवाशीय नेपाली संघ जुन रुपमा उसका एजेन्डा र क्रियाशीलताले हाबी हुनुपर्ने हो त्यो रुपमा भएको पाइदैन ।

 ७५ एनसीसीका सम्पूर्ण सदस्यहरुको गतिबिधि नियाल्ने हो भने केन्द्रीय पदाधिकारीहरु र एनसीसी अध्यक्ष बाहेक अरु उतिसारो क्रियाशील भएको देखिदैन | अर्थात नेताहरुको फुर्तिफार्ती देखिने बाहेक केहि भएको देखिदैन।  अब जनताले मुल्यांकन गर्ने भनेको नेपाल सम्पूर्ण नेपालीको जन्म भुमिहो, मातृभुमि हो जसको आर्थिक बिकासको निम्ति यो संस्था जिम्मेवार ढंगले लागी पर्नुपर्ने हो तर हाल सम्म त्यो ब्यबहारिकरुपमा देखिएको छैन ।  नेपालको मेगा प्रोजेक्टहरुमा गैर-आवाशीय नेपालीहरुको लगानीको फिगर जब सम्म देख्न सकिदैन फुटकर लगानीको कुनै औचित्य देखिने छैन ।  एनआरएनएले आफ्नो गोल, औचित्य साबित गर्नको निम्ति पनि सिप,ज्ञान, पुंजीले भरिपूर्ण दोश्रो पुस्ता लाई समेट्न जरुरि देखिन्छ, जसमा उ चुकेको छ ।

मनी र मसलले “समाजसेवा”

अब गठन हुने सन २०१७-१९को कार्यसमितिका अध्यक्षका बलियो दाबेदार मानिएका भबन भट्टले पनि समाजसेवा गर्ने संस्थामा ब्यक्तिहरुको अस्वस्थ प्रतिस्प्रधालाई अस्विकार गर्दै आएका छन | उनले अक्सर भन्ने गरेका छन “सस्थामा घर,परिवार,तन,मन,समय, ब्यापार, ब्यबसाय सबै त्यागेर लाग्ने हो, लिन जाने हैन दिन जाने हो ! भने के को प्रतिश्प्रधा ? यदि समाज सेवा गर्न, सम्पूर्ण जिबनको क्रिम टाईम खर्च गर्न जाने हो भने प्रतिश्प्रधा आबश्यक छैन ।

”केन्द्रको राजनीतिले तल जरै सम्म असर गर्ने भएकोले समाजसेवा गर्ने संस्थाका नेताहरुले यस्ता फाल्तु कुराहरु लाई सच्याएर अगाडी बढ्नु पर्ने देखिन्छ | सकेसम्म सहमति नभए निर्वाचन पनि साधारण तरिकाले गरेर नेतृत्व चयन हुने वा निर्वाचित हुने ब्यबस्था बनाउनु पर्ने देखिन्छ।  नेपालको संसदिय निर्वाचन भन्दा बढी खर्चिलो हुन थालेका एनआरएनए रिलेटेड गतिबिधिहरुलाई सुधार गर्नको निमित्त मसल,मनि हैन क्रियाशीलता र असल विचार बोकेको मानिस यस संस्थामा समाबेश हुनु पर्नेछ ।

अबको नेतृत्व र गैर-आवासीय नेपालीहरुको आन्दोलन

अब केहि समय पछि आउने गैर-आवासीय नेपाली संघको नयाँ नेतृत्व लाई चुनौतीका पहाडहरु लाइ चिरेर अगाडी बढ्नु पर्ने देखिन्छ | बिशेष गरि शेष घले नेतृत्वको दुइ कार्यकाल भूकम्पको रनभुल्लमै परेर सकिएको कतिपय जानकारहरु बताउछन । एनसीसीहरुमा आएका कतिपय बिचलन उनको तत्काल गर्न नसक्ने निर्णयका कारण भएको भन्ने पनि विश्लेषणहरु छन | जसका कारण एनसीसीहरु भद्रगोल अबस्थामा छन ।  आउने नेतृत्वले संगठन चुस्त दुरुस्त राख्ने, जिम्मेवारीहरु ठिक ढंगले वितरण गर्ने र नेपालले हजारौं बर्ष सम्म गैर-आवासीय नेपालीहरुको सम्झना गरिरहने खालको बिशेषकाम गर्नु पर्ने ठुलो चुनौती छ ।

जब सम्म संगठन एकताबद्द हुन सक्दैन तब सम्म यसका कम हरुको सकारात्मक प्रभाबहरु देख्न सकिदैन ।  संगठन लाइ एकताबद्द बनाउदै रचनात्मक, सृजनात्मक र मेगा प्रोजेक्टहरुका साथ स्वयम् ७५ एनसीसी भित्रका नेपालीहरुको समस्याहरु लाइ निराकरण गर्ने प्रयास गर्ने हो भने पुन: यो आन्दोलनको औचित्य साबित हुने मौका सम्पूर्ण टिमलाई आउने थियो |

ट्रयाक बिग्रेको गैर-आवाशीय नेपाली संघको आन्दोलन लाई उसको मर्म,धर्म र कर्ममा फर्काउने काम अबका नयाँ अध्यक्षको एउटा चुनौती हुनेछ जसले उनको व्यक्तिगत कार्य क्षमता, नेतृत्व कौसलता लगायतका सिपहरुको मापन हुनेछ जसले स्वयम् ब्यक्ति र संस्थालाई फाइदा गर्ने छ नकी बिद्यालय,अस्पतालमा औषधि,चकडस्टर बाढेर कार्यकाल सकाउने र त्यहि समाजसेवा भनेर गर्ब गर्ने ? यो गम्भीर बहसको बिषय हो र समीक्षाको पनि ।

(एनआरएनए आन्दोलनका अनुसन्धानकर्ता समेत रहेका अधिकारी हाल जापानमा बस्छन् )