पोखरा काठमाडौं रुटमा संसारकै उत्कृष्ट स्तरको सुपरडिलक्स बस


पोखरा –  यातायातका साधनमा लगानी गर्दै आएको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सहितको सुपरडिलक्स बसमा लगानी बिस्तार गरेको छ । प्रालिले पोखरा काठमाडौं रुटमा शुक्रबारबाट उक्त बस सञ्चालन गर्न लागेको हो । संसारकै उत्कृष्ट स्तरको बस सञ्चालन गर्न लागिएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले दावी गरे ।

नयाँ बस शुक्रबार पोखराबाट औपचारिक रुपमा सञ्चालन हुँदैछ भने शनिबार काठमाडौंमा सेवा शुभारम्भ गरिनेछ । प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेबल रहने बस २१ सिट क्षमताको छ । बसभित्रै रेष्टरुम र मिनीबारको सुविधा रहेको उक्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत सञ्चालन हुँदैछ ।

आनन्दसँग सुतेर यात्रा गर्न सकिने उक्त बसमा ब्रेकफास्ट तथा लन्चको सुविधा समेत उपलब्ध रहेको अधिकारीले जानकारी दिए । बस दैनिक बिहान ८ बजे काठमाडौं र पोखराबाट छुट्नेछ । यात्रुको सुविधाका लागि बस क्रियु खटिनेछिन् । दुई वटा बसमा प्रति बस करिब ४ करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए । अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज प्रयोग गरी बस तयार गरिएको उनले बताए ।

विश्वकै उत्कृष्ट बस पोखरा–काठमाडौं रुटमा सञ्चालन हुने

भाडादर ६ सय ५० रुपैयाँ रहेको उक्त बसमा खाना बफेडको ५ सय ५० रुपैयाँ, खाजाको १ सय ५० रुपैयाँ, क्रियु सर्भिस शुल्क ५० रुपैयाँ, काउज सिड शुल्क २ सय रुपैयाँ, मनोरञ्जन शुल्क २ सय ५० रुपैयाँ, चिया, कफी, चिसो तथा चकलेट शुल्क २ सय रुपैयाँ, रेष्टरुम शुल्क ५० रुपैयाँ सहित जम्मा भाडादर २ हजार २ सय रुपैयाँ तय गरिएको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । अति विशिष्ट खालको बस सञ्चालन गर्ने लक्ष्यसहित समिति अगाडि बढिरहेको उनले बताए ।

राज्यले यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रको विकास गर्नुपर्ने समितिका अध्यक्ष ऐनकुमार साई बताउँछन् । संस्थाले आगामी दिनमा थप स्तरीय बसहरु सञ्चालन गर्ने उनले बताए । समिति अन्तर्गत १ हजार ३ सय ५५ गाडी सञ्चालनमा छन् । ‘ती मध्ये अधिकांश गाडी डिलक्स मापदण्डका छन्,’ उनले भने, ‘समिति अन्तर्गत देशभरका रुटमा बसहरु सञ्चालन भइरहेका छन् ।’