काठमाडौ र मड्रिड नगर प्रमुख बीच भेटबार्ता,नेपाली दूताबासको भाडा मड्रिडले तिर्ने


काठमाडौ र म्याड्रिड नगर प्रमुख बीच भेटबार्ता

स्पेन/ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्पेनमा खुल्न लागेको नेपाली दूताबासको एक वर्षको भाडा मड्रिड नगरले तिर्ने बताएका छन् । स्पेनको भ्रमणको क्रममा मेयर शाक्यले शुक्रबार एनआरएनए स्पेनको क्षेत्रीय समिति मड्रिडले आयोजना गरेको एक छलफल कार्यक्रममा यस्तो बताएका हुन्।

सो छलफलपछि क्षेत्रीय समितिका म्याड्रिडका अध्यक्ष उत्तर राईले मड्रिड नगरले, दूताबासको एक वर्षको भाडा तिर्ने सहमति गरेको शाक्यको भनाइ उधृत गर्दै जानकारी दिए ।

काठमाडौं महानगरपालिका र मड्रिड शहरवीच हालै भगिनी सम्बन्ध कायम भएकाले नेपाली दूताबासको एक वर्षको कार्यालय खर्च मड्रिड नगरले व्यहोर्ने शाक्यले बताएका हुन् ।

दुई नगरप्रमुख भेटबार्ता र छलफल

शाक्यले म्याड्रिड नगरका प्रमुख मान्युला कारमेनासँग भेटवार्ता तथा छलफल गरेका छन्। भेटमा दुई नगरप्रमुख बीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगको बिषयमा छलफल भएको थियो। दुई शहरबीचको सम्वन्धलाई प्रगाढ बनाउन दुई मेयर बीच कुराकानी भएको बताईएको छ।

स्पेनमा नेपाली दूताबास स्थापना गर्ने नेपाल सरकारको निर्णय सँगै म्याड्रिडसँग काठमाडौँ महानगर पालिकाले उच्चस्तरीय छलफल गर्न सफल भएको छ। सोमबार म्याड्रिड आएका मेयर शाक्य आफ्नो भम्रण सकेर शुक्रबार नै काठमाडौं प्रस्थान गरेका छन्।